यस वर्ष नेपाली फिल्म क्षेत्रका लागि फलदायी देखिएको छ । ६ महिनाको अन्तरालमा चार फिल्म ‘कबड्डी ४’, ‘झिँगेदाउ’, ‘प्रेमगीत ३’ र ‘दुई नम्बरी’ले लगानी उठाएर मुनाफा कमाइसकेका छन् तिहारमा प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा’ पनि हिटको बाटोमा छ । अब मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको फिल्म ‘महापुरुष’ पनि यस वर्षको सुपरहिट बन्ने देखिन्छ ।
पहिलो दिनको व्यापारले पनि यो फिल्मले सफलतातर्फ संकेत गर्छ । आज शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मले विहानैदेखि मल्टीप्लेक्स र सिंगल स्क्रिनमा हाउसफुल दर्शकको साथ पाएको छ । मह जोडीप्रतिको विश्वास, तीन ठाउँमा भएको प्रिमियरमा मिलेको अब्बल प्रतिक्रिया, आक्रामक पब्लिसिटी र सार्वजनिक विदाका कारण फिल्मले पहिलो दिन नै बम्पर सुरुवात गरेको हो ।
देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफक्ससहित राजधानी र मोफसलका मल्टीप्लेक्सहरुमा दर्शकको चाप हेर्दा पहिलो दिन नै फिल्मले डेढ करोडको ओपनिङ गर्ने देखिन्छ । साँझको ५ बजेपछि मल्टीप्लेक्सहरुमा फिल्मको व्यापार थप बढ्ने निश्चित छ । शनिवार र आइतवार पनि सार्वजनिक विदा भएका कारण फिल्मको विकेन्ड कलेक्सन ५ करोड ग्रस हुने अनुमान गरिएको छ ।
फिल्म विहानैदेखि हाउसफुल भएपछि कलाकारहरु हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, निर्देशक प्रदीप भट्टराईलगायतले काठमाडौंका विभिन्न हल चहार्दै दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गरिरहेका छन् । फिल्म हेरेका दर्शकले उम्दा प्रतिक्रिया दिएका छन् । फिल्मका कलाकारहरु हल पुग्दा कति दर्शकहरु गहभरी हुँदै निस्किएका थिए ।
एकल पिताले आफ्ना रहर र खुसीलाई विर्सेर सन्तानका लागि गर्ने त्याग र बुढ्यौली उमेरमा अंकुराएको प्रेमले सिर्जना गर्ने विभिन्न अवरोधमा केन्द्रित रहेको फिल्ममा रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराईलगायतको पनि अभिनय रहेको छ ।