नेपाली फिल्मका लागि यस वर्ष सुखद् देखिएको छ । अन्य वर्षको तुलनामा यस वर्ष हिट फिल्मको संख्या बढी छ । ७ महिनाको अवधिमा ‘कबड्डी ४’, ‘झिंगेदाउ’, ‘प्रेमगीत ३’, ‘दुई नम्बरी’, ‘के घर के डेरा’ र ‘महापुरुष’ गरी ६ फिल्महरु हिट सूचिमा सूचिकृत हुँदा वर्षको अन्त्यसम्म यो सूचि थप लम्बिने सम्भावना प्रवल छ । जसले गर्दा यो वर्ष फिल्म क्षेत्रका लागि ‘लक्की’ नै मान्न सकिन्छ ।
यो ७ महिनाको अवधिमा ६ फिल्म सुपरहिट हुँदा केही आशातित फिल्मले भने पोस्टर छपाईको पैसा समेत उठाउन सकेनन् । यो हविगत शुक्रवारदेखि प्रदर्शित फिल्म ‘लाखे’को पनि हुने संकेत देखिन्छ । किनकि, प्रदर्शनको तीन दिनमा फिल्मले नाजुक कमाई गरेको छ । अपेक्षाकृत दर्शक तान्न नसकेपछि काठमाडौंसहितका मल्टीप्लेक्सहरुले फिल्मको शोजमा भारी कटौती गरेका छन् ।
प्रदर्शनपूर्व आयोजित प्रिमियरमा फिल्मले सन्तोषजनक प्रतिक्रिया बटुलेको थियो । फिल्मको मेकिङ र एक्सन पक्षको अतिथीहरुले प्रशंसा गरेका थिए । त्यसपछिको सेलिब्रेटी शोमा पनि फिल्मले प्रशंसा नकमाएको होइन । तर, सेलिब्रेटीहरुको प्रशंसाले हलसम्म दर्शक तान्न भने सकेको छैन । फिल्मको कमाई दिनहुँ गिर्दो छ । अब यो फिल्मले कमाईमा उछाल ल्याउने सम्भावना न्यून छ ।
आखिर ‘लाखे’ले अपेक्षाअनुरुप दर्शकको साथ किन पाउन सकेन त ? यसको जवाफ फिल्मकै एक कलाकारले चित्त बुझ्ने गरी दिएका छन् । कलाकार रोहित रुम्बाले फेसबुकमा स्टाटस लेख्दै निर्माताबीचको मनमुटावले राम्रो फिल्मको हत्या भएको बताएका छन् । निर्माताहरु आ-आफैं जुधेर बस्दा फिल्मको राम्रोसँग प्रचार हुन सकेकाले ‘लाखे’ मृत्युशैय्यामा पुगेको रोहितको आशय हो ।
उनको तर्कमा केही हदसम्म सत्यता छ । ‘लाखे’मा कलाकारभन्दा लगानीकर्ता धेरै छन् । जसले गर्दा पैसाको विषयमा छायांकनको बेलादेखि नै निर्माताबीच मनमुटाव चर्किएको थियो । प्रचारको समयमा पनि निर्माताबीच उस्तै मनमुटाव रह्यो र फिल्मको प्रचार राम्रोसँग हुन सकेन । फिल्मबारे जानकारी नै नभएपछि दर्शकहरु हलसम्म कसरी आउँछन् ? ‘लाखे’को हकमा यही भएको हो ।
तर, आक्रामक प्रचार-प्रसार गर्दैमा फिल्म बम्पर चल्छ भन्ने पनि होइन । प्रचारमा लाखौं खर्च भएका फिल्मले हलमा घुँडा टेकेका उदाहरण कयैन् छन् । फिल्म बलियो छ भने विना प्रचार पनि ‘वर्ड अफ माउथ’ले व्यापार बढाउँछ । यद्यपि, प्रचार-प्रसार राम्रो हुन सके त्यसले फिल्मको इनिसियल व्यापारमा केही योगदान अवश्य गर्छ । ‘लाखे’ प्रचारमा पनि चुक्यो र ‘वर्ड अफ माउथ’मा पनि ।