मिति : २०८१ आश्विन २१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विपिनलाई लिएर ‘भष्मे डन’ बन्ने, खगेन्द्र सरप्राइज !

फिल्मीखबर, काठमाडौं, 2022/12/19

bhasme don - movie

 

२०७३ सालमा प्रदर्शनमा आएको व्यवसायिक र समीक्षात्मक दुवै रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’मा अभिनेता विपिन कार्कीले निर्वाह गरेको चर्चित पात्र भष्मे डन दर्शकको मन मस्तिष्कमा अझै पनि उस्तै ताजा छ । त्यस पात्रको लवाई, बोलाई र हिँडाई पृथक थियो । र, विपिनले भष्मे डनको चरित्रलाई जीवन दिएका थिए । अब यही पात्रको नामबाट फिल्म निर्माण हुने भएको छ ।

दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको ‘भष्मे डन’मा विपिनको नै मुख्य भूमिका रहनेछ । ‘पशुपति प्रसाद’ जहाँ अन्त्य भएको थियो त्यहीँबाट कथाको उठान हुने निर्देशन खनालले जानकारी दिए । उनले भने, ‘यो सिक्वेल चाहिँ होइन । ‘पशुपति प्रसाद’को अन्तिममा भष्मे डन केही परिवर्तन हुन खोजेको देखिएको थियो । त्यहाँबाट आजसम्म उसको यात्रालाई देखाउन लागिएको हो ।’

आगामी फागुनबाट छायांकन सुरु हुने फिल्मको कथा कलाकार खगेन्द्र लामिछानेले लेखेका छन् । फिल्मको अधिकांश छायांकन काठमाडौंस्थित पशुपतिनाथ क्षेत्रमा नै हुनेछ । ‘पशुपति प्रसाद’मा मुख्य भूमिका निर्वाह गरेका खगेन्द्रको भने ‘भष्मे डन’मा अभिनय रहने वा नहरने भन्नेबारेमा निर्देशक खनालले खुलाउन चाहेनन् । ‘खगेन्द्रजीको सरप्राइज छ, त्यो अहिले भन्न मिल्दैन,’ उनले भने ।

‘पशुपति प्रसाद’मा हनुमानको क्यारेक्टर निभाएका रविन्द्र सिंह बानियाँको पनि फिल्ममा अभिनय रहने फाइनल भइसकेको छ । फिल्मका लागि एक फिमेल क्यारेक्टर पनि निस्किएको तर कसलाई लिने भन्ने बारेमा निधो नभइसकेको खनालले बताए । दीपेन्द्र र खगेन्द्रले मिलेर फिल्मको निर्माण गर्नेछन् । यसअघि उनीहरुबीच दुई फिल्म ‘पशुपति प्रसाद’ र ‘धनपति’मा सहकार्य भएको थियो ।