फिल्म निर्माणलाई जुँवाको खेल भन्ने गरिन्छ । यसको कारण हो, कमाए झ्याप्पै, नकमाए चुर्लुम्मै । यही कारण भनिएको हुनुपर्छ, ‘फिल्म चल्यो भने बोरामा पैसा खादेर फुर्सद हुँदैन, चलेन भने बोरा किन्न पैसा पनि हुँदैन ।’ फिल्म बनाएर बोरा किन्ने पैसा पनि नकमाएका निर्माता हुन्, रामप्रसाद रिजाल । उनले निर्माण गरेका फिल्महरु ‘वान डे’, ‘कसम’, ‘धुवाँ यो नशा’ र ‘कायरा’ चलेनन् ।
उनी निर्मित पाँचौं फिल्म ‘डिसेम्बर फल्स’ यही पुष १५ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मप्रति उनलाई यतिसम्म विश्वास छ कि रिलिजपूर्व नै हिट भन्न थालिसकेका छन् । १२ वर्षपछि खोला पनि फर्किने भन्दै उनले अचेल मिडियासामु एउटै कुरा दोहोर्याउँछन्, ‘म १२ वर्ष भयो नेपाली फिल्म क्षेत्रमा आएको । अब खोला फर्किन्छ ।’ यो उनको विश्वास हो । नतिजा पखाईको विषय बनेको छ ।
बुधबार राजधानीमा पत्रकारसँग आमने-सामने हुने क्रममा निर्माता रिजालले ‘डिसेम्बर फल्स’लाई फाइभ स्टारको मःम भन्न भ्याए । ‘फिल्म राम्रो चल्छ भन्नेमा म ढुक्क छु । म मःम बेच्न बसेको छु भने ठेलामा बेचेको मःम ५० रुपैयाँ पर्छ अनि फाइभ स्टारको मःम ५ सय रुपैयाँ पर्छ । म ५ सय रुपैयाँको अपेक्षा राख्ने मान्छे हुँ । ‘डिसेम्बर फल्स’ नेपाली फिल्मका लागि फाइभ स्टारको मःम हो ।’
आफूले फिल्म बनाउन थालेको १२ वर्ष भएको र पहिलो पटक पूर्ण विश्वास र ढुक्क भएर मिडियामा उपस्थित भएको उनको भनाई छ । उनी ठोकुवा नै गर्छन्, ‘फिल्म हिट भइसक्यो, पैसा कमाइसक्यो ।’ मेकिङप्रति पूर्ण विश्वास, आर्यन सिग्देलको तीन वर्षपछिको कमब्याक, उपासना सिंह ठकुरीको फिल्म लगातार हिट भइरहेकोले पनि फिल्मले राम्रो कमाउने निर्माता रिजालको विश्वास हो ।