एक समय ‘आमाको आर्शिवाद’, ‘गाउँले’, ‘पापी मान्छे’, ‘पर्खि बसेँ’, ‘हिम्मत’ जस्ता सफल फिल्मको निर्देशन गरेका दीपक श्रेष्ठ ‘रङ वे’पछि ७ वर्ष निर्देशनबाट टाढा बसेका थिए । लकडाउनपछि फिल्म ‘घिन्ताङ’बाट निर्देशनमा कमब्याक गरेका उनी अब नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनको निर्देशनमा बन्न लागेको एक बेनाम फिल्ममा नायक दयाहाङ राई अनुबन्ध भएका छन् ।
मंगलवार निर्देशक श्रेष्ठ र हेड अफ प्रोडक्शन सुरज आचार्यको उपस्थितिमा फिल्मका प्रस्तुतकर्ता केवल तामाङ र दयाहाङबीच कागजी सम्झौता भएको छ । फिल्ममा कोमल गुरुङको लगानी रहनेछ । निर्देशक श्रेष्ठ स्वयंको लेखन रहने फिल्मलाई सौरभ लामाल छायांकन गर्नेछन् । आगामी माघ २० गतेबाट फिल्मको छायांकन सुरु गरिने प्रस्तुतकर्ता केवल तामाङले जानकारी दिए ।
फिल्मका लागि एक अभिनेता र एक अभिनेत्री केही दिनमा फाइनल गरिने निर्देशक श्रेष्ठ बताउँछन् । लभस्टोरी र कमेडी कथामा निर्माण हुन लागेको फिल्मको छायांकन सिक्किम र इलाममा हुनेछ । प्रोमिस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा तपश्री प्रोडक्शनको सहकार्य रहनेछ । फिल्मले नेपाल र सिक्किमको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास निर्माण पक्षले लिएको छ ।