मिति : २०८१ मंसिर १, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘कबड्डी ४’को तुलनामा ‘फूलबारी’को शो न्यून तर सुखद

फिल्मीखबर, काठमाडौं, 2023/02/13

यस वर्ष प्रदर्शन भएको फिल्म ‘कबड्डी ४’ले ‘रेकर्ड ब्रेक’ कलेक्सन मात्र गरेन, मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाउने पहिलो नेपाली फिल्म समेत बन्यो । देशभर फिल्मले ९० प्रतिशत शो ‘होल्ड’ गरेको थियो । तर, यही फिल्मको टिम संलग्न नयाँ फिल्म ‘फूलबारी’ले ‘कबड्डी ४’को तुलनामा न्यून शो पाएको छ । मल्टीप्लेक्सहरुमा फिल्मलाई ३५ प्रतिशतसम्म शो मिलेको छ । यद्यपि, यो सुखद हो ।

यो फिल्मले मल्टीप्लेक्सहरुमा उच्च शो पाउनबाट चुक्नुमा बलिउड फिल्म ‘शेहजादा’ र हलिउड फिल्म ‘एन्ट-म्यान एण्ड द वास्प : क्वान्टुमेनिया’ प्रमुख कारण हुन् । ‘फूलबारी’सँगै फागुन ५ गतेबाट यी दुई विदेशी फिल्म पनि प्रदर्शनमा आउँदैछन् । जसले गर्दा शो बाँडिएको हो । तर, ‘वर्ड अफ माउथ’ बलियो भएको खण्डमा शनिबार वा आइतबारबाट फिल्मको शो संख्यामा वृद्धि हुन सक्नेछ ।

 

Fulbari Nepali movie


रामबाबु गुरुङ निर्देशित फिल्मले क्यूएफएक्स चेनमा २९ शो, आइएनआइमा ९, वान सिनेमाजमा ८ र सिनेप्लेक्समा ७ शो पाएको छ । बिग मुभिजमा ६ शो पाएको फिल्मलाई रन्जना सिनेप्लेक्सले ५ र बिएसआर मुभिजले २ शो उपलब्ध गराएका छन् । त्यस्तै, एफक्युब र कीर्तिपुर सिनेप्लेक्सले फिल्मलाई समान ३/३ शो प्रदान गरेका छन् । केही मल्टीप्लेक्सहरुले भने शो बाँड्न बाँकी छ ।

पारिवारिक कथामा निर्मित फिल्मको पोल्टामा शिवरात्री, प्रजातन्त्र दिवस र ग्याप्लो ल्होसारको विदा परेको छ । बलियो ‘वर्ड अफ माउथ’ प्राप्त भए विदाको सिधा फाइदा फिल्मको बक्सअफिसमा पर्नेछ । फिल्मको कलाकारहरुमा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखक छन् ।

उपेन्द्र सुब्बाको पटकथा तथा कमल किशोर मलपानीको कन्सेप्ट रहेको फिल्ममा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा, अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ । यसोदा फिल्म्सको व्यानरमा निर्माण गरिएको फिल्ममा मणिराम पोखरेल कार्यकारी निर्माता र मनिष ढकाल निर्मातामा छन् । फिल्ममा समावेश ‘माया रैछ र’ बोलको गीत यतिबेला सर्वाधिक चर्चित छ ।