परम्परागत कथ्यशैलीलाई भत्काउने एउटा सशक्त फिल्म थियो, ‘कबड्डी’ । र, यसलाई निर्देशन गरेका थिए रामबाबु गुरुङले । फिल्ममा थकाली संस्कार, संस्कृति र परिवेशलाई यसरी बुनिएको थियो कि साँच्चै मौलिक आभास गराएको थियो । दर्शकले पनि ताजा महसूस गरे । तर, के यसपछि निर्देशक गुरुङले मौलिकपन आभास गराउने कथा भन्न सकेका छन् ? नेपाली समाजलाई सुक्ष्म अध्ययन गरेर त्यहाँका कथा-व्यथालाई उधिन्न सकेका छन् ? जवाफ एउटै छ, उनी सिर्जनात्मक कम, बजारमुखी बढी भएका छन् ।
‘कबड्डी’को दोस्रो श्रृंखलादेखि चौंथो श्रृंखलासम्मको कथावाचन शैली हेर्ने हो भने उनी सिर्जनात्मक पक्षमा चुकेको भान हुन्छ । व्यवसायिक लोभले कथा तानतुन पारेर, दुई/चारवटा पेचिला र हाँसो फुटाउने पन्चलाइन राखेर, बजारको ध्यान खिच्न जबर्जस्ती गीत घुसाएर उनले ‘कबड्डी’को नाम मात्र बेचिरहेका छन् । सिर्जनात्मक र कलात्मक पक्षको अभाव छ । ‘कबड्डी’ जस्तो मौलिक फिल्म दिएका निर्देशक यी कुरामा अल्झिनु उनलाई भन्दा ठूलो घाटा फिल्म क्षेत्रलाई हो ।
उनै, निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको नयाँ फिल्म ‘फूलबारी’ले शुक्रबारबाट हलको दैलो टेकेको छ । ट्रेलर रिलिज भएदेखि नै फिल्मको कथासार बलिउड फिल्म ‘बागवान’सँग मिल्दोजुल्दो देखिएको भन्दै टिप्पणी भएको थियो । के निर्देशक गुरुङले नेपाली भर्सनको ‘बागवान’ नै बनाएका हुन् त ? उनले फोटोकपी नै बनाएका छन् भन्दा ठूलो अन्याय हुन्छ । कथा र पटकथा नेपाली समाजसँग नजिक छ । हरेक नेपालीले अपनत्व महसूस गर्ने कथा छ । तर, कथासार भने ‘बागवान’सँग मिल्दोजुल्दो नै छ ।
जयनारायण शर्मा (विपिन कार्की) को वरपर फिल्मले २ घन्टा ९ मिनेट फन्को मारेको छ । शिक्षण पेशाबाट सेवानिवृत्ति भएका जयनारायणका तीन छोरा, एक बुहारी र एक नातिनी छन् । उनी श्रीमती लक्ष्मी शर्मा (अरुणा कार्की) सँग चियाबगानले ढाकिएको गाउँमा बस्छन् । सन्तानहरु चाडपर्वमा मात्र घर आउँछन्, दुई दिन बस्छन् अनि लाखापाखा लाग्छन् । गाउँको बुढो घर जयनारायण दम्पतीको सहारा बनेको छ । अनि, उनीहरु एकअर्काका सहारा बनेका छन् । उनीहरुमा औधी प्रेम छ ।
जेठो छोराले काठमाडौंको ठूलो फ्याक्ट्री हाँकिरहेको छ । माइलो छोरो संगीतमा करिअर बनाउने सपना बोकेर हिँडेको छ । कान्छो छोरा अष्ट्रेलिया हानिएको छ । तीनैजना सन्तानलाई आमा-बुबाभन्दा प्यारो करिअर छ । आमा-बुबालाई समय दिन उनीहरुसँग समय नै छैन । जयनारायण दम्पती कोही एक सन्तान गाउँमै बसिदिएर बुढेसकालको सहारा बनिदिए हुन्थ्यो भन्ने ठान्छन् । तर, सन्तानको खुसी गाउँमा छैन । आमा-बुबाको साथमा छैन ।
कान्छो छोरालाई अष्ट्रेलिया उडाउन गहना समेत बैंकमा धितो राखेको जयनारायणको परिवारमा उथलपुथल तब सुरु हुन्छ जब लक्ष्मी शर्मा विरामी भएर उपचारका लागि काठमाडौं लैजानु पर्ने हुन्छ । काठमाडौंमा जेठो छोराको आलिसान घरमा जयनारायण दम्पतीको प्रवेशपछि आउने आरोह-अवरोह नै फिल्मको केन्द्रीय द्वन्द्व हो । छोराहरुले गर्ने बेवास्था, बुहारीको रुखो बोलीले जयनारायण दम्पतीमा के वित्छ भन्ने फिल्ममा देखाइएको छ ।
कथा कसिलो नहुँदा फिल्मको गति सुस्त छ, मध्यान्तर अघि र पछि पनि । एउटा कुरा बुझाउन लामा-लामा दृश्य प्रयोग गरिएको छ । तर, पेचिलो पन्चलाइन र मनछुने संवादले निन्द्रासँग साक्षात्कार गर्न दिँदैन । फिल्मलाई धानेको नै संवादले हो । संवाद यतिसम्म सशक्त छ कि कति दृश्यमा गह भरिन्छ । जयनारायणले श्रीमतीसँग गर्ने प्रेमिल वार्तालापले प्रेम महसूस गराउँछ । प्रेम गर्न उमेर बाधक हुँदैन भन्ने सन्देश जयनारायण दम्पतीले दिएको छ ।
‘फूलबारी’ विपिन कार्कीकै लागि लेखिएको र बनेको हो भन्दा गलत हुँदैन । जयनारायणको चरित्रमा उनले प्राण भरेका छन् । उनको अभिनयले हरेक विन्दूमा कि हँसाउँछ कि आँसुले गह भरिन्छ । उनी फिल्मका मेरुदण्ड हुन् । जयनारायणको चरित्रमा उनको विकल्प अरु हुनै सक्दैन थियो भन्ने कुरा उनले अभिनयबाट प्रमाणित गरेका छन् । फिल्म हेरेर निस्कँदा समेत उनी आँखाबाट हट्दैनन् । यो फिल्मबाट उनले आफ्नो अभिनय करिअरमा एउटा इट्टा थपेका छन् ।
अरुणा कार्कीको अभिनय पनि स्वभाविक छ । श्रीमती, सासू, आमा, हजुरआमाको विभिन्न आयाममा उनले आफूलाई सशक्त रुपमा प्रस्तुत गरेकी छन् । छोराको भूमिकामा देखिएका सोमनाथ खनाल, अनुपम शर्मा र मनिष ढकालको अभिनय पनि प्रशंसनीय छ । भूमिका छोटो भए पनि अनुपमको चरित्र चित्रण विपिन कार्कीपछिकै उम्दा छ । उनको हाउभाउले नै अभिनय गरेको छ । छुच्ची बुहारीको भूमिकामा प्रियंका कार्कीको अभिनय तारिफयोग्य छ ।
मध्यान्तरअघि प्रशस्त छाएका बलिहाङ (दयाहाङ राई) को चरित्र चित्रण पनि सुहाउँदो छ । अभिनयमा फरकपन महसूस नभए पनि उनको जसरी चरित्र निर्माण गरिएको छ, त्यो रोचक छ । उनको विपिन कार्कीसँगको नोकझोंक रमाइला छन् । फरक परम्परा र संस्कृतिका भए पनि छर-छिमेकी कसरी मिलेर बस्नुपर्छ, एकअर्कालाई समस्या पर्दा कसरी सहारा बन्नुपर्छ भन्ने सन्देश उनीहरुको चरित्रले दिएको छ । छोटो भूमिका देखिएकी शिल्पा मास्केको अभिनय भने औसत छ ।
फूलबारीमा फरक-फरक फूलहरु हुन्छन् । यही थिमअनुरुप फिल्मको ‘प्लट’ विकसित छ । परिवारभित्र फरक सोच, धारणा र दृष्टिकोणका सदस्यहरु हुन्छन् भन्ने कुरालाई फिल्मले जसरी सरल रुपमा बुझाएको छ, त्यसरी नै अभिभावकप्रति सन्तानको जिम्मेवारी र कर्तव्य के हो भन्ने पनि सजिलैसँग अभिव्यक्त गरेको छ । अभिभावकप्रति गैर-जिम्मेवार सन्तानलाई फिल्मले जोडदार थप्पड हान्छ ।
‘फूलबारी’को सशक्त पक्ष संगीत पनि हो । फिल्ममा जति पनि गीत छन्, कथावाचनको रुपमा प्रयोग गरिएका छन् र कर्णप्रिय छन् । अमेरिकी छायाँकर जोस हेरमले खिपेका हरेक दृश्यले कथालाई न्याय गरेको छ । उनको ‘क्यामेरा फ्रेम’ सानदार छ । मध्यान्तरअघि विपिन र अरुणाले कोठाभित्र गरेको प्रेमलापमा अरुणालाई दराजको ऐनामा प्रतिबिम्बित गरेर जोसले खिचेको दृश्यले नै उनको छायांकन कौशल दर्शाउँछ । शैलेस श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर पात्रको भावअनुसार छ ।
फिल्ममा गल्ती र कमजोरी नभएका होइनन् । जयनारायणले कान्छो छोरा अष्ट्रेलिया पठाउन लाग्ने ३० लाख जेठो छोराले जुटाउनु पर्ने भनेपछि प्रियंकाले श्रीमानलाई ‘फ्याक्ट्रीमा मेशिन थप्न पैसा चाहिएको छ भनेको होइन’ भन्दै झपारेको दृश्य छ । यसबाट सोमनाथ फ्याक्ट्रीका मालिक हुन् भन्ने बुझाइएको छ । तर, गल्ती कहाँ गरिएको छ भने एक दृश्यमा सोमनाथलाई फ्याक्ट्रीको मालिकले सिंगापुर गएर मेशिन किन्नका लागि निर्देशन दिएका छन् । अर्थात्, सोमनाथ फ्याक्ट्रीका मालिक होइन, कर्मचारी हुन् तर कार्यकारी पदका । यसबाट पनि फिल्म कथा लेखनमा चुकेको स्पष्ट हुन्छ ।
एक दुर्घटनामा आमा-बुबाको मृत्युपछि सुलोचना (शिल्पा मास्के) लाई बाल्यकालमा जयनारायण दम्पतीले छोरी मानेर हुर्काएको हुन्छ । पछि उनलाई लिन परिवारका सदस्य आउँछन् । त्यसबेला जयनारायण दम्पती निकै भावुक भएको दृश्य छ । तर, सुलोचनासँगको सम्बन्धलाई सतहीमा मात्र देखाएकाले जयनारायण दम्पती भावुक भएको दृश्य बनावटी झैं लाग्छ । न त बाल्यकालमा आमा-बुबाको माया दिएका जयनारायण दम्पतीलाई खोज्न सुलोचना भौतारिएको दृश्यले मन छुन्छ । घटनाक्रम पनि लगभग सजिलै अनुमान लगाउने खालका छन् । कुनै पनि दृश्यले ‘सरप्राइज’ बनाउँदैन ।
नयाँपन खोज्ने हो भने ‘फूलबारी’ उपयुक्त फिल्म नहुन सक्छ । तर, हरेक नेपालीले भोगिरहेको घरभित्रको कथा महसूस गर्ने हो भने फिल्म नछुटाउँदा राम्रो । फिल्मले अभिभावकप्रति सन्तानको दायित्व र कर्तव्यबोध गराउँछ । कहिँ न कहिँ, कुनै न कुनै पार्टमा हरेकले आफ्नो घरभित्रको कथा महसूस गर्न सक्छन् । यसैले ‘फूलबारी’ ‘वान टाइम वाच्ड’ फिल्म हो । तर, निर्देशक रामबाबु गुरुङ अब यो स्तरको फिल्मभन्दा माथि उठ्न आवश्यक छ ।