अभिनेता सारुक ताम्राकारको अन्त्येष्टि गरिएको छ । शुक्रबार दिउँसो पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा पिता सानु ताम्राकारले दागबत्ती दिएका छन् । उनका सारुक एक मात्रै सन्तान थिए । अन्त्येष्टिभन्दा अघि सारुकको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिन नयाँ तथा पुराना दर्जनौं कलाकारहरु पुगेका थिए ।
बिहीबार साँझ रातोपुलस्थित निजी निवासमा सारुक झुण्डिएको अवस्थामा भेटिएका थिए । बुबा-आमा पार्टीमा गएको बेला उनले देहत्याग गरेका थिए । शुक्रबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टमपछि उनको शवलाई अन्त्येष्टिका लागि आर्यघाट पुर्याइएको थियो । त्यहाँको माहोल स्तब्ध र भावविह्वल बनेको थियो । सारुकले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
फिल्म ‘रानी’बाट अभिनय करिअर सुरुवात गरेका सारुकले फिल्म ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डनमा’ पनि काम गरेका छन् । उनी बिहीबार दिउँसो फिल्म ‘ह्यासट्याग माया’को छायांकन गरेर घर फर्किएका थिए । फोटोग्राफीका सौखिन उनले सर्ट फिल्म ‘आशा’, ‘हाइड’ र ‘द रिक्सा कारपूल राइड’को निर्देशनका साथै फिल्म ‘त्यान्द्रो’मा ‘असिस्टेन्ट डाइरेक्टर’को रुपमा समेत काम गरेका थिए ।
तस्विर : गोपिकृष्ण चापागाइँ