मिति : २०८१ मंसिर १६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बगान’ : कछुवाको गतिमा बढाउँदै व्यापार

फिल्मीखबर, काठमाडौं, 2023/07/23

saroj khanal and karishma manandhar

 

गत बैशाखमा प्रदर्शनमा आएको फिल्म ‘जारी’पछि नेपाली फिल्मको अवस्था नाजुक छ । आशातित फिल्मले समेत लगानीको एक तिहाई सुरक्षित गर्न सकेका छैनन् । अब भदौअघिसम्म फिल्म क्षेत्र कोमामा रहने विश्लेषण भैरहँदा अघिल्लो हप्तादेखि प्रदर्शनरत फिल्म ‘बगान’ले थोरबहुत आशा जगाएको छ । कमजोर ओपनिङ गरेको फिल्मले कछुवाको गतिमा व्यापार बढाउँदै लगेको छ ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार, फिल्मले प्रदर्शनको ९ दिनमा ३६ लाख नेट कमाई गरेको छ । यो अंक अपेक्षाकृत नभए पनि लगानीको हिसाबले निराशाजनक पनि होइन । तीन/चार दिनयता फिल्मको व्यापारमा सुधार आएको बोर्डको रिपोर्टले बोल्छ । दोस्रो हप्ताको शनिबार फिल्म हेर्ने दर्शकको उपस्थिति सुखद देखिन्थ्यो । काठमाडौंका केही हल त करिब हाउसफुल नै थिए ।

‘बगान’ले पहिलो हप्ता मल्टीप्लेक्सहरुमा पाएको शोज दोस्रो हप्तासम्म आइपुग्दा ठूलो मात्रामा गुमाइसकेको छ । जसले गर्दा अब व्यापारमा ठूलो सुधारको सम्भावना भने कम देखिन्छ । यद्यपि, हलसम्म दर्शकको भीड ओर्लिएको अवस्थामा परिस्थिति उल्टिन पनि सक्छ । फिल्मले विशेषगरी पारिवारिक दर्शकलाई आकर्षित गरेको छ । मध्यान्तरपछिको भाग दर्शकले बढी रुचाएका छन् ।

एकल महिलाको कथामा बनेको ‘बगान’ एकल महिलालाई निःशुल्क हेर्ने व्यवस्था मिलाइएको छ । अभिनेता सरोज खनालको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा उनी स्वयंको अभिनय छ भने अभिनेत्री करिश्मा मानन्धरले एकल महिलाको भूमिकामा अभिनय गरेकी छन् । उनको छोरीको भूमिकामा प्रमिला कार्की छिन् । आमाको पुनर्विवाह गराउन छोरीले गर्ने संघर्षमा फिल्म केन्द्रित छ ।