यम शेर्पाको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘कार्साङ’बाट छिरिङ शेर्पाले अभिनेत्रीको रुपमा डेब्यू गर्ने भएकी छन् । उनीसँग शेर्पा समुदायमा बनेका केही फिल्म तथा म्यूजिक भिडियोमा अभिनय गरेको अनुभव छ । विश्वकै सर्वाधिक उचाइँ (कालापत्थर)मा नृत्य तथा कोरियोग्राफी गरेर गिनिज बुकमा नाम समेत लेखाइसकेकी शेर्पा ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता पनि हुन् ।
यार्सा फिल्मस्को व्यानरमा बन्न लागेको फिल्ममा यसअघि मुख्य भूमिकामा दयाहाङ राई अनुबन्ध भैसकेका छन् । बुद्धि तामाङको पनि फिल्ममा अभिनय रहनेछ । तिहारपछि छायांकन सुरु हुने फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । फिल्ममा उनी निर्माताको रुपमा पनि छन् । ‘कार्साङ’को छायांकन बाह्रबिसे नगरपालिका-६ मा ९० प्रतिशत र बाँकी भोटेकोसीमा गाउँपालिकामा गरिँदैछ ।
कुनै एक समुदायको कथामा बन्न लागेको फिल्मका लागि अन्य कलाकार प्राविधिक टिम चाँडै छनोट गरिने निर्देशक शेर्पाले बताए । फिल्ममा उनी स्वयंको लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ । फिल्ममा दयाहाङ र बुद्धि अनुबन्धित भएसँगै ओभरसिज राइटसको माग बढिरहेको उनी बताउँछन् । फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स (रोहित-रत्न)ले लिएको छ ।