कुनै बेला फिल्मको असफलताले अभिनेत्री मिरुना मगरको करिअर संकटउन्मुख थियो । तर, ‘कबड्डी ४’ र ‘जारी’को व्यावसायिक सफलतापछि उनी अहिले ‘हाई डिमाण्ड’मा छिन् । ‘जारी’ रिलिज लगत्तै उनले फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सकाइन् र ‘ऊनको स्विटर’ नामक नयाँ फिल्म सम्झौता गरिन् । उनले मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्म ‘अन्जिला’मा पनि काम गर्दैछिन् ।
यसबीच, उनको पाइपलाइनमा अर्को फिल्म थपिएको छ । फिल्म ‘रङ्गेली ग्याङस्टर’मा उनी जोडिएकी छन् । उनी फिल्मको मुख्य भूमिकामा अनुबन्ध भएको पुष्टि कार्यकारी निर्माता जितेन्द्र खतिवडाले गरे । आगामी भदौ २० गतेबाट छायांकनमा निस्कन लागेको फिल्ममा यसअघि नै अभिनेता अर्पण थापा अनुबन्ध भैसकेका छन् । अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा फिल्म तयार हुनेछ ।
फिल्मका लागि बाँकी कलाकारहरु अडिसनबाट लिने तयारीमा निर्माण टिम छ । यसका लागि अडिसन आह्वान गरिएको छ । यही साउन २१ गते पूर्वाञ्चल इन्स्चिच्युट अफ फिल्म एन्ड टेलिभिजनमा फिल्मको अडिसन राखिएको छ । ग्याङस्टर कथावस्तुमा बन्न लागेको फिल्मको छायांकन पूर्वी मोरङको रङ्गेलीमा हुनेछ । यो फिल्मको कार्यकारी निर्मातामा अनोज जंग थापा पनि रहेका छन् ।