मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोहितले अनमोल पर्खिए, अनमोलले सुदर्शन रोजे

फिल्मीखबर, काठमाडौं, 2023/07/30

फिल्म ‘होस्टेल’, ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’ र ‘ए मेरो हजुर ३’को सफलतापछि अभिनेता अनमोल केसीको नाम र अनुहारले नै फिल्म चल्छ भन्ने विश्वास मेकरमा देखिएको थियो । यसैले उनलाई फिल्ममा लिन निर्माताहरुबीच प्रतिस्पर्धा नै चल्यो । ६०/७० लाखसम्म पारिश्रमिक दिन तयार भए । तर, अघिल्लो वर्ष फिल्म ‘छड्के २’ असफल भएपछि धेरै निर्माताको अनमोलप्रति भ्रम तोडिएको छ ।

यद्यपि, एउटा फिल्म नचल्दैमा स्टारको पहिचान बनाइसकेका अनमोलको करिअरलाई उतिधेरै असर गर्दैन र गरेको छैन । ‘छड्के २’ पत्तासाफ भएता पनि उनलाई फिल्मको अफर र पारिश्रमिकमा कमी आएको छैन । तर, उनको केही अव्यावसायिक निर्णयका कारण उनीप्रति मेकरहरुको विश्वास गुम्दै गएको छ । अनमोललाई फिल्म साइन गराएपछि पनि निर्माता ढुक्क हुने अवस्था छैन ।

गएको ३/४ वर्षमा उनले साइन गरेर छाडेका फिल्मको संख्या आधा दर्जन बढी छन् । उनले केही फिल्म निर्माण ढिलाई भएकाले छाडे भने केही फाइनल स्क्रिप्ट चित्त नुबझेपछि हात झिके । स्क्रिप्ट चित्त नबुझेपछि फिल्म छाड्नु त सामान्य कुरा हो । तर, ‘वान लाइन स्टोरी’ सुनेकै भरमा उत्साहित भएर फिल्म साइन गर्नु र पछि स्क्रिप्ट चित्त नबुझेको भन्दै बाहिरिनु अव्यावसायिक चरित्र हो ।

 

anmol kc, rohit adhikari and sudarshan thapa


‘छड्के २’ रिलिजपछि अनमोल फिल्म ‘जेरी अन टप’को छायांकन सुरु गर्ने योजनामा थिए । तर, वर्कसपपछि फिल्मको काम अघि बढ्न सकेन । यसपछि उनले निर्माता रोहित अधिकारीको फिल्म ‘फर्की फर्की’ सम्झौता गरे । उनी पिता भुवन केसीले निर्देशन गर्ने नयाँ फिल्मपछि ‘फर्की फर्की’मा काम गर्ने सोचमा थिए । तर, पिताले तत्काल फिल्म निर्माण नगर्ने भएपछि उनी दोधारमा देखिए ।

अनमोलको होम प्रोडक्सनको फिल्म धकेलिएपछि निर्माता अधिकारी भदौबाट ‘फर्की फर्की’को छायांकन सुरु गर्ने तयारीमा जुटेका थिए । उनले आगामी फागुन २५ गतेलाई प्रदर्शन मिति समेत घोषणा गरे । उनी हिस्स त तब परे जब अनमोलले भदौबाट निर्देशक सुदर्शन थापाको फिल्म ‘रावायण’मा काम गर्ने निर्णय गरे । जसले गर्दा अब ‘फर्की फर्की’ बन्नेमा आशंका उब्जिन थालिसकेको छ ।

अनमोल ‘फर्की फर्की’भन्दा अगाडि ‘रावायण’ गर्न तयार हुनुमा एउटा कारण प्रमुख मानिएको छ । ज्योतिषले अनमोललाई यस वर्ष फिल्म रिलिज नगर्न सुझाव दिएका छन् । यसैले उनी यो वर्ष आफ्ना कुनै फिल्म रिलिज नहोस् भन्ने चाहन्छन् । तर, निर्माता रोहित भदौमा ‘फर्की फर्की’ छायांकन गरेर फागुन २५ मा फिल्म प्रदर्शन गर्ने तयारीमा थिए । यही कारण अनमोल विच्किएको बताइन्छ ।

निर्देशक थापाले यस वर्ष ‘रावायण’ रिलिज नगर्ने वचन दिएपछि अनमोलले ‘फर्की फर्की’लाई पछाडि सारेको निकट स्रोत बताउँछ । अनमोलले ‘रावायण’पछि ‘फर्की फर्की’ गर्ने बताएका छन् । तर, त्यसबेलासम्म उनका पिताले फिल्मको काम अगाडि बढाएको खण्डमा ‘फर्की फर्की’ अझै धकेलिन सक्नेछ । अनमोललाई पर्खिँदा पर्खिँदै निर्माता अधिकारीको दाह्री-कपाल नै फुल्ने त होइन ?