अभिनेता सलोन बस्नेतले ठूलो अपेक्षा राखेको फिल्म हो, ‘जय हो’ । यो फिल्म व्यावसायिक रुपमा सफल भएको खण्डमा उनलाई सहायक चरित्रमा सीमित हुनुपर्ने बाध्यता हट्नेछ । पिता शोभित बस्नेत प्रस्तुतकर्ता भएकाले उनलाई यो फिल्म सफल हुर्नैपर्ने दबाब पनि छ । यसैले उनी फिल्म रिलिजको एक महिना अगावैदेखि प्रचारमा उत्रिएका थिए । तर, शुक्रबार उनी अष्ट्रेलिया उडे ।
सलोन अष्ट्रेलिया उड्नुअघि फिल्ममा समावेश ‘राजा रानी’ बोलको रोमान्टिक गीत काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो । त्यहाँ उनले फिल्म रिलिजको मुखमा अष्ट्रेलिया जानु लाग्नुको कारणबारे प्रष्ट्याउँदै भने, ‘म धेरै समयका लागि जान लागेको चाहिँ होइन । हाम्रो फिल्म अष्ट्रेलिया र नेपालमा एकसाथ प्रदर्शन हुने भएकाले त्यहाँ गएर अलि-अलि प्रमोसन गर्नुपर्नेछ ।’
नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उनको भनाई छ । अष्ट्रेलियामा नेपाली समुदायको बसोबास रहेको क्षेत्र र नेपाली विद्यार्थीहरु अध्ययनरत विभिन्न कलेजमा अन्तरक्रिया गर्ने कार्यक्रम राखिएको सलोनले बताए । उनी शनिबार अष्ट्रेलिया ओर्लिसकेका छन् । उनकी बहिनी सलिना बस्नेत लामो समयदेखि अष्ट्रेलियामा नै बसोबास गर्दै आइरहेकी छन् ।
आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउन लागेको ‘जय हो’मा सलोनको जोडी अभिनेत्री केकी अधिकारीसँग बाँधिएको छ । पहिलो पटक उनीहरुले एकसाथ काम गरेका हुन् । केकी सलोनलाई आफ्नो बाल्यकालको ‘चाइल्ड स्टार’को संज्ञा दिन्छिन् । पहिलो पटक एकसाथ काम गरेको भए पनि एकदमै सहज महसुस भएको उनको भनाई छ । सलोन निकै ‘प्रोफेसनल’ रहेको उनको बुझाइ छ ।