गत असार २१ गते घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारका पिता सानु ताम्राकार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । शनिबार उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । छोरा सारुकको निधनपछि उनी विक्षिप्त बनेका छन् । छोराको निधनको चिन्ताले उनी बिरामी परेका हुन् । उनलाई पहिल्यैदेखि ढाड दुख्ने समस्या भने थियो ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले अहिले ताम्राकारलाई आईसीयूमा राखेर उपचार भैरहेको जानकारी दिए । ‘हामी उहाँलाई भेट्न गएका थियौं । तर, भेट्न दिइएको छैन । उहाँ बोल्न सक्ने स्थितिमा पनि हुनुहुन्न । चिकित्सकले स्वास्थ्य अवस्था गम्भीर नभएको बताउनुभएको छ,’ उनले भने । सानु ताम्राकार कलाकारसँगै चलचित्र कलाकार संघको पूर्व उपाध्यक्ष समेत हुन् ।
सारुकको निधनपछि घरमा सान्त्वना दिने आउने सबैलाई सानु ताम्राकारले नरुन आग्रह गर्ने गरेको अभिनेत्री मलिना जोशीले केही दिनअघि इन्स्टाग्राममा उल्लेख गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘सारुकका पिताले कसैलाई रुन नदिन सान्त्वना दिने कोशिश गर्नुहुन्थ्यो । सबैजनालाई हँसाउन मूर्खतापूर्ण चुट्किला भन्नुहुन्थ्यो । उसका माता-पिता सुन हुन् ।’ सानुका सारुक एउटै छोरा थिए ।
सारुकले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन । प्रहरीले केही व्यक्तिसँग सामान्य सोधपुछबाहेक गम्भीर रुपमा अनुसन्धान पनि गरेको छैन । कलाकार संघका अध्यक्ष निरौला सारुकको निधनबारे अनुसन्धान अघि बढ्न नसकेको गुनासो परिवारले गरेको बताउँछन् । सारुकको परिवारले उचित छानबिन भएर दोषीलाई कानुनी रुपमा सजाय हुनुपर्ने माग राखेको उनले जानकारी दिए ।