एउटा उखान छ, ‘घुमिफिरी रुम्जाटार ।’ यही भएको छ नीति शाहको हकमा । अभिनेता अनमोल केसीको जोडी बन्ने गरी गत वर्ष उनले फिल्म ‘एक्स ९’ सम्झौता गरेकी थिइन् । तर पछि अनमोलले फिल्म छाडे । जसले गर्दा उनीहरुबीच सहकार्य हुन सकेन । तर, नीतिको भाग्यमा अनमोलकै फिल्मबाट डेब्यू गर्न लेखेको रहेछ । अब फिल्म ‘रावायण’मा यी दुईको जोडी बाँधिने भएको छ ।
बलिउड अभिनेता अनुपम खेरको एक्टिङ स्कुलमा अभिनय कोर्ष गर्न मुम्बई पुगेकी उनी बुधबार नेपाल फर्किएकी थिइन् । नेपाल आएको भोलिपल्टै अर्थात् बिहीबार उनले ‘रावायण’ साइन गरेकी हुन् । उनी यही फिल्म सम्झौता गर्न नेपाल आएको जानकारीमा छ । अनमोल यसअघि नै अनुबन्ध भैसकेका छन् । प्राप्त जानकारी अनुसार अनमोल रावायण र नीति सीताको भूमिकामा हुनेछन् ।
सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन् । सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको निर्मातामा सुप्रिया कटुवाल छिन् । सुप्रिया निर्देशक थापाकी श्रीमती तथा अभिनेत्री हुन् । उक्त फिल्ममा अनमोलको डबल रोल रहने जनाइएको छ । उनी पहिलो पटक फिल्ममा दोहोरो भूमिकामा देखिन लागेका हुन् ।
नीतिले यसअघि तीन फिल्म सम्झौता गरेको भए पनि ‘रावायण’ डेब्यू हुनेछ । उनले पहिलो फिल्मको रुपमा ‘हुतुत’ सम्झौता गरेकी थिइन् । यो फिल्म बन्न सकेको छैन । दोस्रो फिल्म ‘एक्स ९’को निर्माण पनि अन्योल छ । उनले गत वर्ष फिल्म ‘कामिनो’ सम्झौता गरेकी थिइन् । तर, समयमा नै छायांकन सुरु नभएपछि उनी फिल्मबाट बाहिरिसकेकी छन् । आशा गरौं, ‘रावायण’ चाहिँ बन्नेछ ।