आगामी भदौ १४ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘ऐंचौ पैंचो’ले किशोरावस्थाका विद्यार्थीलाई लक्षित गर्दै ‘कलेज प्रचार अभियान’ सुरु गरेको छ । बुधबार फिल्मका मुख्य कलाकारहरु राजाराम पौडेल, सुशील सिटौला र सारदा गिरी (काली बुढी)ले काठमाडौंको टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा उपस्थिति जनाएर विद्यार्थीहरुलाई फिल्म हेर्न निम्तो दिए ।
त्यस कार्यक्रममा तीनैजना कलाकारले फिल्ममा समावेश ‘काले केटाले’ गीतमा नृत्य पनि गरे । उनीहरुसँग सेल्फी लिन विद्यार्थीहरु झुम्मिएको दृश्य हेर्नलायक थियो । फिल्मलाई लिएर कलेजका विद्यार्थीहरुमा देखिएको उत्सुकता र चासोले आफू उत्साहित भएको अभिनेता सिटौला बताउँछन् । कलेजमा गरिएको फिल्मको प्रचार प्रभावकारी हुनेमा निर्देशक कृषा चौलागाइँ विश्वस्त देखिन्छिन् ।
केपी फिल्मस्को ब्यानरमा तयार भएको ‘ऐंचौ पैंचो’मा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, रमेश बुढाथोकी, बुद्धि तामाङ, रविन्द्र झा, कोशिस क्षेत्री, विशाल पहारीलगायतको पनि अभिनय रहेको छ । एक हप्ता अगाडि युट्युबमा रिलिज भएको फिल्मको ‘काले केटाले’ गीतले दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । गीतलाई साढे १६ लाखभन्दा बढीले हेरिसकेका छन् ।
प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको यो फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, सत्यम राणको भीएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी प्रोडक्सन कन्ट्रोलर र विनय राज पौडेल मुख्य सहायक निर्देशक छन् भने विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।