मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बालेनप्रति यशको टिप्पणी- ‘शहर सुन्दर बनाउँदा जनताको अनुहार अँध्यारो हुनु हुँदैन’

फिल्मीखबर, काठमाडौं, 2023/08/08

अभिनेता तथा गायक यश कुमारले मंगलबार आफ्नो आवाज, शब्द रचना तथा अभिनयमा ‘सुस्तरी-सुस्तरी’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेका छन् । गीतमा नगर प्रहरी र सडकमा मकै बेच्ने युवतीबीचको प्रेमलाई देखाउन खोजिएको छ । भिडियोमा नगर प्रहरीहरुले सडकपेटीमा व्यापार गर्नेहरुलाई बल प्रयोग गरेर हटाएको दृश्यहरु पनि छन्, जसले काठमाडौंको यथार्थ कथा बोल्छ ।

प्रायः दिनहुँजसो काठमाडौं महानगरका प्रहरीहरुले फुटपाथ, सडकपेटीमा व्यापार गर्नेहरुलाई बल प्रयोग हटाएको पीडादायी दृश्य बाहिर आउने गरेको छ । तर, महानगरले त्यसलाई व्यवस्थित गर्न सकेको छैन । ‘सुस्तरी-सुस्तरी’ गीतमार्फत् यशले सडकपेटीमा व्यापार गर्नु हुँदैन भनेर सन्देश दिएका छन् । उनी यो गीत नगरपालिकाको निर्णयको विरुद्धमा नभइ पक्षमा नै रहेको दाबी गर्छन् ।

 

YASH KUMAR


‘हामीले नगरपालिकाको निर्णयलाई नै सघाएका छौं । एउटा जिम्मेवार र अर्को बाध्यतामा रहेको व्यक्ति नियममा बाँधिएर जानुपर्छ भन्ने सन्देश गीतले दिन्छ । हामीले गीतमा नगर प्रहरीलाई हिरो बनाएका छौं,’ उनी भन्छन् । शहर सुन्दर बनाउने क्रममा जनताको अनुहार अँध्यारो हुन नहुने उनको तर्क छ । सडकमा गरिने व्यापारले शहर कुरुप देखिए त्यसको विकल्प खोज्न उनको सुझाव छ ।

‘दिनभर कमाएर बेलुका खानुपर्ने परिवारलाई अलग्गै व्यवस्था गरिदिनुपर्छ । बाँच्ने अधिकार खोस्नु हुँदैन । बाटोमा व्यापार गर्नेहरु त संसारमै छन् । त्यहाँको सरकारले नियममा बाँधेर सहजीकरण गरिदिएको छ । दिनहुँ आमालाई धक्का मारेको, पानीपुरी बेच्नेहरु रोएको देख्दा मन घोच्ने रैछ । उनीहरुलाई व्यवस्थित गर्नुपर्छ,’ काठमाडौंका मेयर बालेन शाहलाई सुझाव दिँदै गायक यशले भने ।

उनले गीतको कन्सेप्ट दुई वर्षअघि नै तयार पारेका थिए । तर, उनको विदेश यात्राले गर्दा भिडियो निर्माण हुन सकेको थिएन । उनी काल्पनिक कुरा भन्दा पनि भैरहेकै कुरा आउनुपर्छ भनेर ‘सुस्तरी’ गीत तयार गरेको बताउँछन् । उनी भन्छन्, ‘चलचित्र र म्यूजिक भिडियो भनेको ऐना हो, जसबाट हर कोहीलाई सम्झाउन र बुझाउन सकिन्छ ।’ गीतमा उनको जोडी अनु थापासँग बाँधिएको छ ।

अनु थिएटर आर्टिस्टसँगै फिल्मकी अभिनेत्री समेत हुन् । ‘चिनी कम रंड कडा’ फिल्ममा मुख्य भूमिका निभाएकी उनले ‘खुवालुङ’, ‘कुभिन्डोको कथा’ जस्ता केही नाटकमा पनि अभिनय गरेकी छन् । केही समय अभिनयबाट टाढा रहेकी उनले ‘सुस्तरी-सुस्तरी’ गीतबाट अभिनयमा फर्किन पाएकोमा खुसी व्यक्त गरेकी छन् । यशकै कथा रहेको गीतको निर्देशन निकेश खड्काले गरेका हुन् ।