आगामी भदौबाट निर्माणको तयारीमा रहेको फिल्म ‘उपहार’मा सुलक्षण भारतीको नाम उल्लेख गरिने सहमति भएपछि स्क्रिप्टलाई लिएर उत्पन्न विवाद सुल्झिएको छ । मंगलबार फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा र निर्मात्री तथा अभिनेत्री रेखा थापाले सुलक्षणसँग प्रत्यक्ष भेट गर्दै फिल्मको कथा, पटकथा तथा संवादमा नाम उल्लेख गर्ने वचनबद्धता व्यक्त गरेपछि विवादले किनारा पाएको हो ।
सुलक्षणले फिल्मको टिमसँग सहमतिपश्चात् फेसबुकमा जानकारी दिँदै लेखेका छन्, ‘अन्त्यमा रेखाजी र ज्ञानेन्द्रजीसँग कुरा भयो । हामी एउटा निष्कर्षमा पुग्यौं । कथा, पटकथा र संवादमा मेरो नाम उल्लेख गर्ने भनी हामीबीच सम्झौता भयो । यस विषयलाई यतै टुङ्याउने हामीले सल्लाहअनुसार कुरा भएको छ ।’ उनले निर्माताबाट अब बाँकी पारिश्रमिक नलिने पनि जानकारी गराएका छन् ।
‘मेरो बुझाईमा उहाँहरुले बौद्धिक सम्पत्ति र वान लाइनको कन्सेप्ट बुझ्नु भएको रहेन रैछ । अन्त्यमा उहाँहरुले यो सिनेमा मेरो वान लाइनको कन्सेप्ट हो भन्ने कुरा स्वीकार गर्नुभयो । कथा भनेकै मूल कन्सेप्ट हो ‘वान लाइन’, जुन मैले लेखेको हो । अब कुरा आयो मेरो अनुमत्ति बिना कसरी अरु लेखकलाई कथा लेख्न दिइयो त ? कन्सेप्ट मेरो भएपछि मेरो अनुमति लिनुपर्छ,’ उनले लेखेका छन् ।
सुलक्षणले पहिला ‘फल्स सिलिङ’ शीर्षकमा फिल्मको स्क्रिप्ट लेखेका थिए । पछि अभिमन्यू निरवीले स्क्रिप्ट तयार पारे । अब ‘फल्स सिलिङ’मा आफूले कृति लेख्ने भारतीले बताएका छन् । यसमा निर्मात्री थापा र निर्देशक देउजाले आपत्ति नजनाएको उनले उल्लेख गरेका छन् । चाँडै ‘फल्स सिलिङ’ नाममा नाटक लेख्ने पनि उनको उद्घोष छ । उनी अब्बल नाटक लेखकको रुपमा चिनिन्छन् ।
त्यस्तै, निर्देशक देउजाले फेसबुकमा स्टाटस लेख्दै सामान्य मिस अन्डरस्ट्याडिङका कारण विवाद जन्मिएको बताउँदै परिवारभित्रै बसेर समस्या समाधान भएको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘मात्र बुझाई फरक थियो । सबैका आ-आफ्नै कर्तव्य र बुझाईमा घटिबढीको अवस्था थियो । परिवारभित्रै छलफलमा मिलाइयो । शुलक्षण भारतीजीलाई ‘उपहार’ परिवारमा स्वागत गरिएको छ ।’