बलिउड सुपरस्टार रणवीर सिंह पहिलो पटक डनको भूमिकामा देखिने भएका छन् । उनले हिट फ्रेन्चाइज ‘डन’को तेस्रो श्रृंखलामा मुख्य भूमिकामा काम गर्न लागेका हुन् । बुधबार निर्माण कम्पनी एक्सेल इन्टरटेनमेन्टले टिजरमार्फत् ‘डन ३’को औपचारिक रुपमा निर्माण घोषणा गर्दै रणवीरले डनको भूमिका निर्वाह गर्ने जानकारी गराएको हो । टिजरमा रणवीर आकर्षक लुक्समा प्रस्तुत छन् ।
फिल्मलाई अभिनेता समेत रहेका फरहान अख्तरले निर्देशन गर्नेछन् । सुपरस्टार शाहरुख खानको मुख्य भूमिका रहेको ‘डन’को अघिल्लो दुई श्रृंखलालाई पनि फरहानले नै निर्देशन गरेका थिए । ‘डन ३’मा पनि साहरुख नै दोहोरिने चर्चा थियो । तर, यसपटक निर्माण टिमले रणवीरलाई डन बनाउन लागेको छ । यस फिल्मलाई निर्देशक अख्तर र रितेश सिधवानीले मिलेर निर्माण गर्नेछन् ।
सन् २०२५ मा रिलिजको तयारी गरिएको फिल्ममा रणवीरको अपोजिटका लागि अभिनेत्रीको टुंगो लागिसकेको छैन । तर, भारतीय मिडियामा कियारा आडवाणीको नाम चर्चामा छ । ‘डन’को पहिलो श्रृंखला सन् २००६ र सन् २०११ मा दोस्रो श्रृंखला प्रदर्शन भएको थियो । दुवै भारतीय बक्सअफिसमा सुपरहिट भएको थियो । दुवै श्रृंखलामा शाहरुखको जोडी प्रियंका चोपडासँग बाँधिएको थियो ।