अब सुपरस्टार दयाहाङ राईबिना नेपाली फिल्म नै नबन्ने स्थिति आएको देखिन्छ । ‘कबड्डी ४’ र ‘जारी’को सफलतापछि उनी ‘हाई डिमाण्ड’मा छन् । हरेक निर्माता उनलाई नै लिएर फिल्म बनाउन चाहिरहेका छन् । कतिपयले उनलाई नयाँ राजेश हमालको संज्ञा दिन थालेका छन् । अहिले उनीसँग एक दर्जनको आसपास फिल्म छ । यस वर्षका लागि उनको सेड्युल ‘प्याक’ नै भैसकेको छ ।
दयाहाङले गएको एक महिनामा मात्रै तीनटा फिल्म सम्झौता गरेका छन् । गत हप्ता ‘रङ्गेली ग्याङस्टर’ र ‘बरिष्ठ बलराम’ फिल्ममा जोडिएका उनले तीन हप्ताअघि फिल्म ‘घर ज्वाइँ’ सम्झौता गरेको जानकारी प्राप्त भएको छ । निर्देशक अनिल बुढा मगरले यसको पुष्टि गरे । आगामी माघबाट छायांकनमा निस्कने फिल्मको निर्माता जनक घर्ती मगर हुन् । रुकुममा फिल्मको छायांकन गरिनेछ ।
विनोद खतिवडा, सुवास कोइराला र निर्देशक मगर स्वयंको लेखन रहेको ‘घर ज्वाइँ’मा शिशिर वाङ्देल र राज थापा मगरको पनि अभिनय रहनेछ । दयाहाङ राईको अपोजिटका लागि केही दिनमा अभिनेत्रीको पनि टुंगो लाग्ने निर्देशक मगर बताउँछन् । उनले फिल्मको कथावस्तुको बारेमा केही खुलाउन चाहेनन् । यो फिल्मलाई रोहित-रत्नको आरआर फिल्म्सले वितरण गर्ने जनाइएको छ ।
निर्देशक मगरले सन् २०११ मा ‘लोम्बा’ नामक फिल्मको निर्देशन गरेका थिए । यो फिल्म सार्वजनिक प्रदर्शनमा नआएको भए पनि एक अमेरिकी फिल्म फेस्टिभलमा विभिन्न विधामा अवार्ड जितेको थियो । यसपछि उनले फलाम खानीको कथामाथि फिल्म ‘आग्रे’ बनाए, जसले अहिलेसम्म ७ विधामा अवार्ड जितिसकेको छ । अनिल फिल्म ‘गोठालो’मा निर्माताको रुपमा समेत जोडिएका थिए ।