अभिनेत्री स्वस्तिमा खड्काको पहिलो फिल्म ‘होस्टेल रिर्टन्स’को हिरो को थिए ? जवाफ आउन सक्छ, सुशील श्रेष्ठ । तर, फिल्ममा स्वस्तिमाको जोडी सुशील थिएनन् । सुशील नाम गरेकै सुशील सिटौला थिए । दुवैको यो पहिलो फिल्म थियो । फिल्म सफल पनि भयो । यसको करिब ७ वर्षपछि फेरि एकपटक स्वस्तिमा र सुशीलबीच फिल्ममा सहकार्य जुरेको छ । त्यो फिल्म हो, ‘ऐँचो पैँचो’ ।
पहिलो फिल्ममा झैं ‘ऐँचो पैँचो’मा उनीहरुको जोडी बाँधिएको छ या छैन, त्यसका लागि भदौ १४ गतेसम्म पर्खिनै पर्ने हुन्छ । प्रचार-प्रसारमा भने उनीहरु एकसाथ देखिएका छन् । मंगलवार नेपालको सबैभन्दा ठूलो राशीको ‘मेरो डान्स युनिभर्स’को फाइनलमा अतिथिको रुपमा सहभागी हुँदै उनीहरुले फिल्मको प्रचार गरेका छन् । उक्त एपिसोड केही हप्तामा प्रशारण हुने बताइएको छ ।
‘ऐँचो पैँचो’को ‘काले केटाले’ गीत यतिबेला चर्चाको केन्द्रमा छ । युट्युबमा गीतलाई २० लाखभन्दा बढीले हेरिसकेका छन् । गीतको लोकप्रियताले फिल्मको व्यापारमा फाइदा पुग्नेमा निर्माण टिम विश्वस्त छ । फिल्मको सफलताका लागि यसै हप्ता निर्देशक कृषा चौलागाईं र निर्माता विशाल चौलागाईंले मुम्बईमा अवस्थित प्रसिद्ध हिन्दू मन्दिर श्री सिद्धिविनायकमा पुजाआजा समेत गरेका छन् ।
‘ऐँचो पैँचो’मा स्वस्तिमा र सुशीलसँगै मुकुन भुषाल, वर्षा राउत, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्दि तामाङ, रविन्द्र झा, सरिता गिरी, कोशिस क्षेत्री, विशाल पहारी, सुमन मोथीलगायतको पनि अभिनय रहेको छ । प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको यस फिल्ममा अभिमन्यु निरवीको कथा लेखन, पुरुषोत्तम प्रधानको छायांकन तथा कविराज गहतराजको कोरियोग्राफी छ ।
फोटोग्राफर : सफल गनेजो