यतिबेला दुई अभिनेता दयाहाङ राई र विपिन कार्कीबीच नयाँ फिल्म सम्झौता गर्ने अघोषित प्रतिस्पर्धा नै चलेको देखिन्छ । दुवैको पाइपलाइनमा फिल्मको कमी छैन । तर, फिल्मको अफर ओइरिँदा उनीहरुले कहिले हप्ता त कहिले महिना दिनको अन्तरमा नयाँ फिल्म सम्झौता गरिरहेका छन् । जुनसुकै चरित्रमा ढाल्न सक्ने खुबी भएकाले पनि यी दुई स्टार मेकरको रोजाईमा परिरहेका हुन् ।
यसैक्रममा, विपिन नयाँ फिल्म ‘काजी’मा जोडिएका छन् । बिहीबार उनले यो फिल्म सम्झौता गरेका हुन् । फिल्ममा विपिन टाइटल क्यारेक्टरमा प्रस्तुत हुने जानकारी प्राप्त छ । उनको जोडी अभिनेत्री वर्षा सिवाकोटीसँग बाँधिनेछ । लक्ष्मण रिजालको निर्देशनमा बन्न लागेको फिल्मको छायांकन आगामी भदौबाट सुरु गर्ने तयारी गरिएको छ । रामप्रसाद रिजालले यो फिल्मको निर्माण गर्नेछन् ।
रिजाल एन्ड रिजाल प्रोड्क्सनको ब्यानरमा निर्माण हुने फिल्ममा विजय बराल, बुद्धि तामाङ, सुमन कार्की र कैलाश कार्कीको पनि अभिनय रहनेछ । सुनिल मानन्धरको श्रीराम बालाजी पिक्चर्सले वितरण गर्ने फिल्मको छायांकन करिब १ दशकअघिको बेलायती परिवेशमा गरिने जनाइएको छ । निर्माण अगावै आगामी चैत ३० गतेलाई फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिसकिएको छ ।
निर्माता रामप्रसाद रिजालको नयाँ फिल्म ‘गणपति’ आगामी भदौ १४ गतेबाट प्रदर्शन हुँदैछ । गत वर्ष उनी निर्मित फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शन भएको थियो । फिल्म निर्माणमा अहिलेसम्म अपेक्षित सफलता हासिल गर्न नसके पनि उनी ‘फलामलाई फलामले नै काट्छ’ भन्ने सोचले फिल्म निर्माणबाट पछाडि हटेका छैनन् । उनले ‘डिसेम्बर फल्स २’को समेत निर्माण घोषणा गरिसकेका छन् ।