गणेशदेव पाण्डेद्वारा निर्देशित फिल्म ‘जुलेबी’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘आज मन भारी मगन’ बोलको गीतमा केतन क्षेत्रीको स्वर, कोशिस क्षेत्री र केतन क्षेत्रीको शब्द रचना तथा संगीत छ । गीतमा फिल्मका पात्रहरुको मनोभाव र परिस्थितिलाई देखाइएको छ । फिल्मले उठाएको कथा गीतले अभिव्यक्त गरेको देखिन्छ ।
गीत सार्वजनिक कार्यक्रममा लेखक समेत रहेका पाण्डेले भने, ‘फिल्मका पात्रहरुलाई रत्नपार्कले जोड्छ । फिल्मको कथा सातजना पात्रहरुको सम्बन्धको वरिपरि घुमेको छ ।’ उनले यो कथा आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको अनुभव सुनाए । यसअघि उनले ‘मञ्जरी’ र ‘गाँजाबाजा’ गरी दुई फिल्मको निर्देशन गरिसकेका छन् । उनी लामो समयपछि फिल्म निर्देशनमा फर्किएका हुन् ।
अभिनेत्री सुरक्षा पन्तले ‘जुलेबी’ले उठाएको कथामा धेरै फिल्म नबन्ने धारणा राखिन् । फिल्ममा यौनकर्मीको भूमिका निभाएकी उनी भन्छिन्, ‘यस्तो कथामा नेपालमा धेरै फिल्म बन्दैनन् । हाम्रो समाजले हेर्ने दृष्टिकोणले फरक भएको तर उहाँहरु (यौनकर्मी) सुन्दर लाग्ने व्यक्तिहरु पनि हुनुहुन्छ । यौनकर्मीहरुको आ-आफ्नै कथा-व्यथा हुन्छ । फिल्ममा त्यो पाटोलाई पनि देखाउन खोजिएको छ ।’
एन्थोलोजी जनरामा बनेको फिल्मका कार्यकारी निर्माता नवीन भट्ट हुन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्ममा सुरक्षासँगै निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितको पनि अभिनय छ । फिल्मकी निर्मात्री आभा शर्मा नेपाल हुन् । यो फिल्म आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।