सुपरस्टार दयाहाङ राई अभिनीत फिल्म ‘गाउँ आएको बाटो’ क्यानडाको ‘टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभल-२०२३’मा छनोट भएर विश्व प्रिमियर हुने भएको छ । नवीन सुब्बा निर्देशित फिल्म ‘सेन्टर पिस’ सेक्सनमा छानिएको हो । सेप्टेम्बर ७ देखि १७ सम्म चल्ने फेस्टिभलमा निर्देशक सुब्बा सहभागी हुने जनाइएको छ । यसअघि त्यस फेस्टिभलमा फिल्म ‘सेतो सूर्य’ छनोट भएको थियो ।
निर्माण टिमद्वारा जारी विज्ञप्तिमा विश्वको प्रतिष्ठित महोत्सवमा नेपाली फिल्म छनोट हुनुले नेपाली फिल्म क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ । यो फिल्मले नेपाली फिल्मको विश्वमा दृष्यता बढाउने आशा निर्माण पक्षको छ । राई समुदायको सामाजिक पृष्टभूमिमा बनेको फिल्म गाँउमा सडक आएपछि बाबु-छोराको सम्बन्धमा आउने उतार-चढावमा आधारित रहेको छ ।
सामुदायिक लगानीको अवधारणामा बनेको फिल्ममा दयाहाङका साथै पशुपति राई, प्रसन राई, केशव राई, प्रेम सुब्बा, राज थापा, सुमित्रा राई आदिको अभिनय छ । महेश राई र निर्देशक नवीन सुब्बाको लेखन रहेको फिल्ममा अमेरिकी नागरिक जोस हेरमको छायांकन, क्वान पुन लिउङको सम्पादन, हेडी लिको संगीत र किशोर आचार्यको ध्वनी छ भने राज थापा प्रडक्सन डिजाइनर हुन् ।
मिन्सो लिम्बु लाइन प्रोड्युसर रहेको फिल्मको कार्यकारी निर्माता सन्जु राई, नरहाङ राई, भिम राई र देवराज राई रहेका छन् भने आमोद राई र नवीन सुब्बा निर्मातामा छन् । छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा फिल्म बनेको हो । ‘गाउँ आएको बाटो’ टोरोन्टो फिल्म फेस्टिभलमा छनोट भएपछि दयाहाङले खुसी व्यक्त गरेका छन् ।