बलिउड फिल्मको आइकनिक हिटमध्ये एक ‘गदर’को सिक्वेलले भारतीय बक्स अफिसमा डंका पिटेको छ । फिल्मको ओपनिङ नै अकल्पनीय रह्यो । ४० करोड १० लाखको जबर्जस्त ओपनिङ पाएको फिल्मको विकेन्ड थप शक्तिशाली देखिएको छ । दोस्रो दिन ४३ करोड ८ लाख र तेस्रो दिन ५१ करोड ७० लाखको कमाई गर्दै ‘गदर २’ले तीन दिनमा नै सय करोडको आँकडा नघाएको छ ।
फिल्मको तीन दिनको कूल कलेक्सन १ सय ३४ करोड ८८ लाख पुगेको छ । बलिउड इतिहासमै एक दिनमा ५० करोड कमाउने फिल्ममा समेत ‘गदर २’ सूचीकृत भएको छ । यसअघि ‘पठान’, ‘केजीएफ २’, ‘वार’ र ‘ठग्स अफ हिन्दोस्तान’ले यो रेकर्ड बनाएका थिए । बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले तारा सिंह (सनी देओल)ले हतौडाबाट बक्स अफिस तोडेको टिप्पणी गरेका छन् ।
‘वर्ड अफ माउथ’ बलियो भएकाले फिल्मले एक हप्तामा साढे २ सय करोडमाथिको कमाई गर्ने निश्चित छ । फिल्मको लाइफटाइम कलेक्सन भारतमा मात्रै ४ सय करोडमाथि हुनसक्ने प्रक्षेपण गरिएको छ । ‘गदर २’ले सनी देओलको करिअरलाई नै उठाइदिएको छ । वर्षौंदेखि उनका फिल्म हिट हुन सकेका थिएनन् । ‘गदर २’मा विशेषगरी उनको एक्सन अवतारलाई दर्शकले रुचाएका छन् ।
सन् २००१ मा प्रदर्शनमा आएको ‘गदर’को सिक्वेलको रुपमा कथालाई अगाडि बढाइएको छ । फिल्ममा सनी तारा सिंह र अमीषा पटेल सकीनाको भूमिकामा छन् । उनीहरुको छोराको भूमिकामा उत्कर्ष शर्मा छन् । तारा सिंहले पाकिस्तानबाट श्रीमतीलाई फिर्ता ल्याउन गरेको संघर्षमा ‘गदर’ केन्द्रित थियो । सिक्वेलमा भने तारा सिंह छोरालाई बचाउन एकपटक फेरि पाकिस्तान पुगेका छन् ।