नेपालमा प्रायः फिल्मको स्क्रिप्ट छायांकन नसकिँदासम्म सामान्य हेरफेर भैरहन्छ । कहिले निर्देशक र निर्माताको इच्छाले त कहिले कलाकारको दबाबले । स्क्रिप्टमा हेरफेर हुँदा कलाकारको रोल थपघट हुने भैहाल्यो । कसैको बढ्छ त कसैको खुम्चिन्छ । पोष्ट प्रोडक्सनमा पनि कैंची चल्ने हुँदा कलाकारले जुन रोलका लागि सम्झौता गरेका हुन्छन्, पर्दासम्म आइपुग्दा त्यो केमियो बन्न पुग्छ ।
अभिनेत्री वर्षा राउतको पनि फिल्म ‘ऐंचो पैंचो’मा रोल काटिएको र उनी असन्तुष्ट रहेको गाइँगुइँ सुनिएको छ । फिल्मको पोस्टरमा समेत उनलाई सबैभन्दा कुनामा राखिएको छ । यसैले उनी फिल्मको प्रचारमा हिँड्न नचाहेको चर्चा छ । सोमबार ट्रेलर सार्वजनिक कार्यक्रममा समेत उनले उपस्थिति जनाइनन् । तर, निर्देशक कृषा चालागाईं वर्षाको रोल काटिएको भन्ने कुरालाई सत्य मान्दिनन् ।
‘फिल्मको लम्बाई एउटा हुन्छ । रोल कति छ भन्ने कुरा फिल्म नआएसम्म थाहा हुन्न । तर, वर्षाले मसँग कहिले गुनासो गरेको थाहा छैन,’ फिल्ममा वर्षालाई उचित स्थान नदिएको भन्ने विषयमा उठेको प्रश्नमा उनले भनिन्, ‘मलाई यो कुरा केही थाहा छैन । यो प्रश्न प्रिमियरको दिन सोध्नुहोला अनि उत्तर दिन्छु ।’ फिल्म हेरेपछि वर्षाको रोलको विषयमा आफैं जवाफ मिल्ने कृषाको आशय थियो ।
आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘ऐंचो पैंचो’मा वर्षाका अलावा स्वस्तिमा खड्का, मुकुन भुषाल, सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतको पनि अभिनय रहेको छ । राजनीतिक विषयमा केन्द्रित रहेको फिल्ममा वर्षा विवाहित महिलाको चरित्रमा रहेको ट्रेलरको एक दृश्यबाट बुझिन्छ ।