फिल्म ‘रङ्गेली ग्याङ्स्टर्स’को शीर्षक परिमार्जित गरिएको छ । अब ‘रङ्गेली’ शीर्षकमा फिल्म बन्ने भएको छ । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । आगामी महाशिवरात्रीको अवसर पारेर फागुन २५ गते फिल्म प्रदर्शनमा आउने भएको छ । अब यो फिल्मको बक्स अफिसमा नवल खड्काद्वारा निर्देशित फिल्म ‘काँडेतार’सँग भिडन्त हुनेछ ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बन्न लागेको ‘रङ्गेली’मा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी बाँधिनेछ । साथै, फिल्ममा अर्पण थापा, प्रविण खतिवडाको पनि अभिनय अभिनय रहनेछ । आगामी भदौ २० गतेबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । मोरङ जिल्लाको रङ्गेलीमा फिल्मको सम्पूर्ण छायांकन हुने निर्देशक सुवेदीले जानकारी दिए ।
फिल्मको कार्यकारी निर्मातामा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा छन् भने निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई बशिष्ठ हुन् । युवक कार्की र शिव थपलिया सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । सुशन प्रजापतिले फिल्मको छायांकन गर्नेछन् । निर्माता जीतेन्द्र खतिवडाले फिल्मको शीर्षक परिमार्जित गरिए पनि स्क्रिप्ट परिमार्जित नभएको बताएका छन् ।