सन् २०२० मा चर्चित भारतीय अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा परिवारवाद (नेपोटिज्म), कृपावाद र समुहवादको बहस व्यापक चर्किएको थियो । त्यसको बाछिट्टा नेपालमा समेत राम्रैसित देखियो । त्यसयता नेपाली कलाकारहरु यो विषयमा किस्ता-किस्तामा बहस गरिरहेका छन् । यसले प्रतिभावान कलाकारलाई पलायन हुन बाध्य बनाएको टिप्पणी हुने गर्छ ।
यसैक्रममा, यो बहसमा अभिनेता तथा संगीतकार कोशिस क्षेत्री पनि उत्रिएका छन् । सोमबार आफू अभिनीत फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले अचानक नेपोटिज्मको प्रशंग निकाले । जबकि, त्यहाँ यस विषयमा चर्चा भएकै थिएन । जसले गर्दा भर्खरै श्रीमान् निश्चल बस्नेतले निर्देशन गरेको फिल्म ‘दिमाग खराब’मा काम गरेकी स्वस्तिमा खड्का केही हच्किएकी थिइन् ।
परिवारलाई राखेर परिवारले फिल्म बनाउने प्रवृत्ति रहेको कोशिसको टिप्पणी छ । ‘यहाँ कति फिल्म आउँछन् अनि कति जान्छन् । कति कलाकार, निर्देशक, निर्माता पलायन हुने अवस्था छ । यो कहीँ न कतै आफ्नो नजिकको मान्छे अनि परिवारलाई मात्र समेटेर फिल्म बनाउने प्रथाले हो कि जस्तो लाग्छ । परिवार राखेर परिवारले नै फिल्म बनाइरहेको जस्तो भान हुन्छ कतिबेला,’ उनले भने ।
‘ऐंचो पैंचो’ले भने आफूहरुलाई परिवार बनाएकोमा उनले खुसी व्यक्त गरे । आफूले निकै आत्मीय परिवार पाएको उनको भनाई छ । कोशिसले पहिलोचोटी नेपोटिज्मबारे आफ्नो धारणा राखेका हुन् । नेपोटिज्मले गर्दा आफू पनि अगाडि आउन नसकेको आशय उनको हुन सक्छ । उनले भनेझैँ परिवार राखेर परिवारले फिल्म बनाउनेहरु नेपालमा नभएका होइनन् । तर, ज्यादै सीमित छन् ।