मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म निर्माणको अनुभवले निर्देशक बनेकी कृषा

फिल्मीखबर, काठमाडौं, 2023/08/15

Krisha Chaulagain

 

फिल्म निर्देशन चुनौतीपूर्ण जिम्मेवारी हो । फिल्म कस्तो बन्ने र बनाउने निर्देशकमा निर्भर हुन्छ । एकहिसाबले फिल्मको भाग्य लेख्ने नै निर्देशकले हो । यसैले त निर्देशकलाई ‘क्याप्टेन अफ दि सिप’ भनिन्छ । किनभने, जहाज क्याप्टेनको सुझबुझपूर्ण निर्णय चल्छ अनि फिल्म निर्देशकको सोचले बन्छ । यी दुवैले खुट्टा कमाए भने ठूलो दुर्घटना हुन पुग्छ । यसबाट बच्न पर्याप्त अनुभव चाहिन्छ ।

यसैले हुनसक्छ, निर्मात्री कृषा चौलागाईंले फिल्म निर्देशनमा होमिनलाई हतार गरिनन् । यसका लागि उनले १५ वर्ष अनुभव बटुल्न समय खर्चिइन् । उनले पहिलो फिल्म ‘इन्साफ’ सन् २००८ मा बनाएकी थिइन् । त्यसपछि उनले ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलाँस’ फिल्म बनाइन् । ‘सुश्री’ फिल्मको कथा लेखिन् । र, अब फिल्म ‘ऐंचो पैंचो’बाट उनी निर्देशनमा आएकी छन् ।

फिल्म निर्माण उनको रुचि हो । यसैले त फिल्म असफल हुँदा पनि उनी बलियो आत्मविश्वासले डगमगाएकी छैनन् । फिल्म निर्माण गर्दैगर्दा निर्देशनप्रति उनको रुचि जागेको थियो । निर्देशकले एउटा सट लिँदा उनको दिमागमा अर्को सट घुमिरहेको हुन्थ्यो । केही फिल्मको पोस्ट प्रोडक्सनमा समेत उनी आफैं बसेकी थिइन् । कृषा आफूलाई कौतुहलता र अनुभवले निर्देशक बनाएको ठान्छिन् ।

उनी भन्छिन्, ‘पहिल्यैदेखि निर्देशनमा इच्छा थियो । केही फिल्मको पोस्ट प्रोडक्सनमा म आफैं बसेर काम निकालेको थिएँ । हरेक कुरामा कौतुहलता हुन्थ्यो । सबै कुरा नजिकबाट निहालेकाले आफैंलाई निर्देशन गर्ने इच्छा थियो । निर्देशकले एउटा सट लिइरहँदा यसलाई यसरी लिन पाए कस्तो हुन्थ्यो भनेर सोच्ने गर्थेँ । त्यही अनुभव र कौतुहलतालाई मिश्रण गरेर मैले ‘ऐंचो पैंचो’ बनाएको हुँ ।’

 

Krisha Chaulagain


निर्देशक चौलागाईंलाई फिल्म मेकिङ कहिल्यै सिकेर सकिन्न भन्ने लाग्छ । हरेक फिल्मबाट नयाँ कुरा सिकिने उनको अनुभव छ । ‘ऐंचो पैंचो’बाट आफूले धेरै नयाँ कुरा सिक्न पाएकोमा खुसी छिन्, कृषा । उनको अनुभवमा जति नै जान्ने-बुझ्ने निर्देशकलाई पनि फिल्डमा गएपछि नर्भसनेस हुन्छ । उनलाई पनि भएको थियो । तर, सहयोगी टिमले गर्दा उनलाई छायांकन सकिएकै पत्तो भएन ।

‘निर्देशक भएपछि सबै कुरा मिलाउनु पर्ने हुन्छ । मेरो त मुख्य कलाकार नै १९ जना हुनुहुन्थ्यो । सबै कुरा मिलाउने क्रममा कहिले के बिग्रन्थ्यो त कहिले के हुँदैन थियो । तर, सबैको साथ-सहयोगले मैले फिल्म निर्देशन गरेको छु भन्ने महसुस नै भएन । एकदमै मज्जाले फिल्म सकियो,’ उनले भनिन् । राजनीतिक विषयलाई उठाइएको यो फिल्म आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।