फिल्म बनाउनभन्दा कठिन हुन्छ फिल्म बेच्न । अर्थात् चलाउन । लक्षित दर्शकसम्म फिल्मबारे जानकारी पुर्याउन अहिले सानोतिनो खर्च, मिहिनेत र समयले पुग्दैन । त्यसका लागि केही फरक शैलीको प्रचार अपनाउनुपर्ने हुन्छ । केही समययता नेपाली फिल्मको प्रचार गर्ने थलो कि रियालिटी शो कि त कलेज बनिरहेको छ । कलेजका विद्यार्थीलाई फकाएर हलमा तान्ने ध्येयमा मेकरहरु छन् ।
यसैक्रममा, आगामी भदौ ८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘जय हो’ले पनि प्रचारका लागि कलेज रोजेको छ । सोमबार बिहान कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेज पुगेर अभिनेता सलोन बस्नेत, अभिनेत्री केकी अधिकारी र प्रस्तुतकर्ता शोभित बस्नेतले फिल्म हेर्न आग्रह गरे । पर्दामा हेर्दै आएका सलोन र केकीलाई सामुन्नेमै देख्दा कलेजका विद्यार्थीहरु सेल्फी खिच्न झुम्मिएका थिए ।
निर्माता शोभित बस्नेतले फिल्ममा प्रेमकथा रहेकाले कलेजमा प्रचार गरेको बताए । ‘हामी कलेज-कलेजमा पुग्नुको कारण फिल्ममा प्रेमकथा पनि छ, जुन अहिलेको युवापुस्तालाई निकै मनपर्छ । यो भन्दैमा हाम्रो टार्गेट कलेजका विद्यार्थी मात्र होइनन्, परिवार पनि हुन् । हजुरआमादेखि नाती-नातिना सबैले एकैचोटी फिल्म हेर्न सक्छन् । फिल्ममा त्यसखालको फेमिली ड्रामा पनि छ,’ उनले भने ।
टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा अर्पण थापा, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ र सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । फिल्ममा सुरेश न्यौपानेको लेखन, सौरभ लामाको छायांकन, कविराज गहतराज तथा रामजी लमिछानेको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, बनिश शाहको सम्पादन र शम्भुजीत बास्कोटा तथा सागर आले मगरको संगीत छ ।