पहिलो फिल्मदेखि नै लभर गर्लको रुपमा प्रस्तुत हुँदै आएकी अभिनेत्री पूजा शर्मा पहिलो पटक फिल्म ‘दान्भी’मा एक्सन भूमिकामा देखिँदैछिन् । दुई हप्ता एक्सनको तालिम लिएपछि उनी फिल्मको छायांकनमा जोडिएकी थिइन् । यतिबेला काठमाडौंको नैकापमा तयार पारिएको सेटमा एक्सनयुक्त क्लाइमेक्स दृश्यको छायांकन भैरहेको छ । जसमा पूजा ‘एक्सन लेडी’को रुपमा प्रस्तुत छिन् ।
निर्माण पक्षले उपलब्ध गराएको केही थान तस्विरमा पूजा दुई हातमा बञ्चरो लिएर एक्सन अवतारमा देखिएकी छन् । एक तस्विरमा उनी गाडीभित्र घाइते अवस्थामा रहेका दुई पुरुष खलपात्रको छातिमा टेकेर एङ्ग्री लुक्समा चित्रित छिन् । पूजाको यो अवतारले दर्शकलाई फिल्मप्रति अधैर्य बनाउने देखिन्छ । रुपेश तामाङको निर्देशनमा बनिरहेको ‘दान्भी’मा श्री श्रेष्ठको एक्सन निर्देशन छ ।
फिल्मको क्लाइमेक्समा सयजना फाइटर प्रयोग गरिएको निर्देशक तामाङले जानकारी दिए । उनले भने- ‘फिल्मको क्लाइमेक्सका लागि हामीले निकै मिहिनेत गरिरहेका छौं । दर्शकलाई साउथ र बलिउडको महसुस हुनेछ ।’ त्यस्तै, क्लाइमेक्समा तीन दिनदेखि काम गरिरहेकी पूजाले एक्सनमा नयाँ प्रयोग हेर्न पाउने दाबी गरेकी छन् । एक्सनमा काम गर्न सहज नभएको उनको अनुभव छ ।
हरि लामा घलेको छायांकन रहेको फिल्ममा संजोग रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेलेको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । अनुप गदाल र देव मगरको लगानीमा तयार भैरहेको फिल्ममा कमला लिम्बु र गोकुल सुवेदी सह-निर्मातामा छन् । फिल्ममा पूजाको जोडी मोडल कुन्साङ बोमजनसँग बाँधिएको छ । फिल्मको केही प्रतिशत छायांकन दार्जिलिङमा पनि हुनेछ ।