दुई फिल्म ‘अलविदा’ र ‘रोमियो’का निर्माता तथा अभिनेता हसनराजा खान अब आफैं फिल्म निर्देशनमा उत्रने भएका छन् । यसै हप्ता अमेरिकाको न्यूयोर्कमा आयोजित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा उनले आफ्नो निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘प्रस्थान’को औपचारिक निर्माण घोषणा गरेका हुन् । वैदेशिक रोजगारीको कथामा आधारित भएर फिल्म बन्ने उनले बताएका छन् ।
फिल्म दुबई र नेपालमा खिचिनेछ । हसन लामो समयदेखि व्यावसायको सिलसिलामा दुबईमा बस्दै आइरहेका छन् । ‘रोमियो’पछि उनले फिल्मबाट दूरी बनाएका थिए । फिल्मको निर्माणमा दुबईको कम्पनी किव्रा इभेन्ट्सले समेत सहकार्य गर्नेछ । ‘प्रस्थान’लाई हिन्दी भाषामा डब गरेर भारतका हलमा प्रदर्शन गर्ने योजनामा हसन छन् । फिल्ममा अहिलेसम्म कलाकारको टुंगो लागेको छैन ।
हसनको अभिनय करिअर फिल्म ‘साथी म तिम्रो’बाट सुरु भएको थियो । यसपछि उनी आफैं फिल्म निर्माणमा होमिए । सन् २००९ मा ‘मिस्टर राजधानी’को उपाधि जितेका उनले फिल्म ‘अलविदा’बाट नेफ्टा अवार्डमा उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड जितेका थिए । हसन मुश्लिम समुदायबाट प्रतिनिधित्व गर्छन् । नेपाली फिल्ममा मुश्लिम समुदायका कलाकार औंलामा गन्न सकिने मात्र छन् ।