खलपात्रको भूमिकामा अक्सर खोजिने कलाकार हुन्, प्रमोद अग्रहरी । यद्यपि, उनी कमै फिल्ममा झुल्किन्छन् । तर, जुन फिल्ममा काम गर्छन्, अभिनयको प्रशंसा टुट्दैन । उनी अब सुपरस्टार अनमोल केसीसँग फिल्म ‘रावायण’मा देखिने भएका छन् । फिल्ममा उनी भिलेनको भूमिकामा भित्रिएको हुनसक्ने आँकलन गरिएको छ । तर, निर्माण पक्षले यो विषयमा कुनै जानकारी गराएको छैन ।
आगामी भदौदेखि छायांकन सुरु हुने बताइएको एक्सन-लभस्टोरी फिल्मको निर्देशन सुदर्शन थापाले गर्नेछन् । शिवम् अधिकारीको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा अनमोल दोहोरो भूमिकामा प्रस्तुत हुने जानकारी प्राप्त छ । उनको जोडी नीति शाहसँग बाँधिने तय भैसकेको छ । यसअघि तीनवटा फिल्म सम्झौता गरेकी नीतिको अभिनयको हिसाबले डेब्यू भने ‘रावायण’बाट हुनेछ ।
सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा सुप्रिया कटुवालको निर्माण रहने यो फिल्ममा शिल्पा मास्के र कामेश्वर चौरासियाको पनि मुख्य भूमिका रहनेछ । सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा विक्रम स्वारको कोरियोग्राफी रहने फिल्ममा पुष्कर लामा प्रोडक्सन डिजाइनर र प्रोडक्सन म्यानेजरको जिम्मेवारीमा सुदीप ढकाल छन् । फिल्मको टाइटल क्यारेक्टरमा अनमोल रहनेछन् ।