फिल्म दर्शकका लागि बनाइन्छ । दर्शकले फिल्म हेरिदिए निर्माताको हातमा धेरथोर पैसा पर्ने हो । दर्शकको भीड हलसम्म ल्याउन फिल्मबारे जानकारी पुर्याउन सक्नुपर्छ । त्यसका लागि प्रचार जरुरी छ । किनकि, पीठो त बोल्नेकै बिक्ने हो । प्रचारबिना प्रदर्शन भएका फिल्म एक रेक्टरका भूकम्प जस्ता हुन्छन्, आएको/गएकै पत्तो नहुने । र, हलमा फिल्म दर्शकले कम, कुर्सीले बढी हेर्छन् ।
शुक्रबारबाट दुई नेपाली फिल्म ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा उत्रिएका छन् तर, गुमनाम हिसाबले । दुवै फिल्मका निर्माताले प्रचारमा खासै रुचि देखाएनन् । ‘जुलेबी’ले थोरबहुत प्रचार त गर्यो तर प्रभावविहीन । सम्भवतः फिल्मको टिमलाई मात्र रिलिजबारे जानकारी भयो । ‘हिँड्दा हिँड्दै’को त त्यति पनि भएन । फलतः यी दुईवटै फिल्मको बिहानी शोको अकुपेन्सी अत्यन्त दयनीय छ ।
ट्रेलर, टिजर, पोस्टर र गीतले पनि फिल्मको धेरथोर प्रचार गर्छ । दर्शकलाई हलसम्म तान्ने शक्तिशाली हतियार यिनै हुन् । ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ यसमा पनि चुकेको देखिन्छ । दुवै फिल्मको युट्युबमा सार्वजनिक प्रायः कन्टेन्टको भ्यूज एउटा साधारण म्यूजिक भिडियोको जत्ति पनि छैन । अब यी फिल्मको व्यापार ‘वर्ड अफ माउथ’मा निर्भर रहनेछ, जुन हरेक फिल्मलाई अपरिहार्य हुन्छ ।
यतिबेला नेपाली हलमा ‘गदर २’, ‘ओएमजी २’, ‘जेलर’, ‘रकी और रानीकी प्रेम कहानी’ जस्ता विदेशी फिल्मको दबदबा छ । जसले गर्दा ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ मल्टीप्लेक्सहरुमा चेपुवामा परेका छन् । दुईवटै फिल्मलाई न्यून शो छ । फिल्मको हाइप र प्रचारको आधारमा पनि मल्टीप्लेक्सले शो बाँड्ने गर्छन् । यी दुवै हिसाबले शुक्रबारे फिल्म कमजोर निस्कँदा शोमा पनि खुम्चिन पुगेका हुन् ।
मिलन आले मगरद्वारा निर्देशित ‘हिँड्दा हिँड्दै’मा आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकारमा अर्विन थिङ्गको अभिनय रहेको छ । त्यस्तै, गणेशदेव पाण्डेको निर्देशन रहेको ‘जुलेबी’मा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायत कलाकारमा छन् ।