आगामी भदौ २९ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको झरना थापाद्वारा निर्देशित फिल्म ‘एक भगवत् गीता’ दुईवटा कारणले चर्चामा छ । एउटा, अभिनेता विपिन कार्कीको ट्रान्सजेन्डर लुक्स । गत महिना सार्वजनिक भएको टिजरमा उनको कमलामाई अवतारले दर्शकलाई ठूलो ‘सरप्राइज’ दिएको छ । दोस्रो, पहिलोचोटी अभिनेता धिरज मगर र अभिनेत्री सुहाना थापाको जोडी बाँधिएको छ ।
यसबीच, शुक्रबार फिल्मको ‘क्यारेक्टर लुक्स’ पोस्टर सार्वजनिक गरिएको छ । जसमा धिरज र सुहाना रोमान्टिक अवतारमा प्रस्तुत छन् । पोस्टरमा धिरज गुरुङ पहिरनमा चित्रित छन् । यसबाट उनको चरित्र गुरुङ समुदायको रहेको बुझ्न सकिन्छ । सुहानाको लुक्स र गेटअपले भने मधेशी समुदायको झल्को दिन्छ । त्यस्तै, पोस्टरमा विपिन ट्रान्स वुमन (ट्रान्सजेन्डर)को लुक्समा प्रस्तुत छन् ।
अन्तरजातीय प्रेमकथामा आधारित यो फिल्ममा कबीर खड्का, जेविस/जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ । सुनिल कुमार थापाको निर्माण रहेको फिल्मको कथा निर्देशक थापा स्वयंको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको फिल्ममा परिक्षेद र पुरुषोत्तमको संवाद छ ।
राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको फिल्मको निर्मातामा सुहाना थापा छिन् । छायांकन सुरु हुँदा फिल्मको नाम ‘भगवत् गीता’ मात्र थियो । झरनालाई ‘ए’ शब्द फापिरहेकाले फिल्ममा ‘एक’ शब्द थपिएको हो । उनी निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज सफल छन् ।