फिल्मको प्रचार सामाग्रीमा कलाकारलाई दिइने स्थानले ठूलो अर्थ राख्छ । फिल्ममा मुख्य भूमिकामा रहेको कलाकारलाई ट्रेलरमा झलाकझुलुक र पोस्टरमा कुनामा राख्दा मेकरको नियतमाथि प्रश्न उठ्छ । कतिपय फिल्मको प्रचार यिनै कारणले समेत प्रभावित भएका छन् । आफूलाई उचित स्थान नदिएको भन्दै कलाकार प्रचारमा नहिँडिदिँदा टिमभित्र मनमुटावको स्थिति सृजना हुने गर्छ ।
भदौ १४ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘ऐंचो पैंचो’मा अभिनेत्री वर्षा राउतको धेरै रोल काटिएको र महत्त्वपूर्ण पोस्टरमा आफ्नो फोटो सबैभन्दा कुनामा राखिएकोप्रति उनी निर्देशक तथा निर्मात्री कृषा चौलागाईंसँग असन्तुष्ट रहेको भन्दै मिडियामा व्यापक चर्चा भैरहेको छ । सोमबार यो फिल्मको ट्रेलर रिलिज कार्यक्रममा वर्षा अनुपस्थित भएपछि चर्चाको आगोमा झनै घिउँ थप्ने काम गर्यो ।
ट्रेलर सार्वजनिकपछि फिल्मको प्रचारमा सक्रिय रहेकी वर्षाले मेकरसँग आफ्नो केही चित्त दुखाई भए सिधै भन्न सक्ने बताएकी छन् । यसका लागि आफूले मिडियाको माध्यम नखोज्ने उनको भनाई छ । उनी भन्छिन्, ‘मैले कसैसँग केही भनेको पनि छैन । कसैसँग चित्त दुखाई पनि होइन । मेरो केही गुनासो भएको भए सिधै मेकरलाई नै भन्छु । यसका लागि मिडियाको माध्यमबाट जानु पर्दैन ।’
निर्देशक र कलाकारसँग आफ्नो नराम्रो सम्बन्ध नरहेको समेत उनको दाबी छ । पोस्टरलाई हेरेर फिल्मको मुल्यांकन नगर्न उनको आग्रह छ । अभिनेत्री स्वस्तिमा खड्का भने पोस्टरमा वर्षालाई कुनामा राखेको विषयमा भैरहेको चर्चालाई पितृसत्तात्मक सोचको कारण मान्छिन् । वर्षाको ठाउँमा पुरुष कलाकार भएको भए पोस्टरमा किन पछाडि राखेको भनेर कसैले नभन्ने उनको धारणा छ ।