किशोरावस्थामै फिल्म निर्माणमा होमिएकी हुन्, कृषा चौलागाईं । पहिलो फिल्म ‘इन्साफ’को सेटमा उनले १५औं जन्मदिनको केक काटेकी थिइन् । यसपछि उनले ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु ?’ र ‘पलाँस’ फिल्म निर्माण गरिन् । फिल्म निर्माणमा १५ वर्षको अनुभवपछि कृषाले भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ऐंचो पैंचो’बाट निर्देशकको परिचय थपेकी छन् ।
फिल्ममा स्थापित कलाकारहरुको जत्था छ, जसले धेरै स्थापित निर्देशकहरुसँग सहकार्य गरिसकेका छन् । यसैले उनीहरुलाई नयाँ निर्देशक (कृषा चौलागाईं)को फिल्ममा काम गर्न तयार हुनुको कारणबारे सञ्चारकर्मीहरुले प्रश्न गरिरहेका छन् । तर, यसखालको प्रश्नले नयाँ निर्देशकहरुको मनोबल घटाउने कृषाको बुझाई छ । कलाकारहरु पनि नयाँ हुँदै विस्तारै स्थापित हुने उनी बताउँछिन् ।
उनी भन्छिन्, ‘हामीले पनि नयाँ कलाकारलाई लिएर फिल्म बनाउँछौं । उनीहरु भविष्यमा स्टार बन्छन् । १५ वर्षको उमेरदेखि मैले फिल्म बनाएर आज निर्देशन गरेको हुँ । हिजो मैले फिल्म बनाउँदा किन प्रश्न उठेन ? कोही कलाकारले ‘ऐंचो पैंचो’मा काम नगर्न के यो बन्नै नहुने फिल्म थियो र ? कि खर्च नहुने फिल्म बनेको थियो ? यस्तो कुराले मनोबल घटाउँछ र एकअर्कामा दूरी बढाउँछ ।’
पहिला निर्देशन नगरेको भएपनि फिल्मको धेरै काममा आफू संलग्न हुने गरेको उनी बताउँछिन् । ‘पोस्ट प्रोडक्सनबाट धेरै फिल्म म आफैंले निकालेँ । यो मेरो सातौं फिल्म हो । त्यो अनुभवले कुनै दिन निर्देशन गर्छु भन्ने त थियो । तर, निर्देशन भनेको एक्सन-कट मात्र गर्नु होइन भनेर मैले केही सर्ट फिल्म बनाएँ । त्यसपछि ‘ऐंचो पैंचो’को कथालाई यसरी भन्छु भनेर निर्देशन गरेँ,’ उनले भनिन् ।
उनको बुझाईमा फिल्ममा तीन चिज छ, इन्टरटेनमेन्ट, इन्टरटेनमेन्ट अनि इन्टरटेनमेन्ट । एउटा विषय उठाएर रमाइलोसँग पस्किने प्रयास गरिएको उनी स्पष्ट पार्छिन् । निर्देशक चौलागाईं कथासारबारे प्रष्ट्याउँदै भन्छिन्, ‘मान्छेको जीवनमा जन्मिएदेखि ऐंचो पैंचो हुन्छ । खासमा हामो जीवन ऐंचो पैंचोमा चलिरहेको छ । यसलाई राजनीतिक, मित्रता, प्रेम सबै हिसाबले प्रष्ट्याउन खोजेका छौं ।’
यसपटक आफूले धेरै दर्शकहरुलाई मनपर्ने फिल्म बनाएको उनलाई लाग्छ । तर, फिल्म भनेको एउटा खेल जस्तै हो । सफलता र असफलताको ग्यारेन्टी हुन्न । दुवै नतिजा स्वीकार गर्न सक्ने सामर्थ्य मेकरमा हुनुपर्छ । कृषा पनि यसमा स्पष्ट छिन् । फिल्म सफल भए अझ राम्रो फिल्म बनाउने उनको संकल्प छ । कथमकदाचित असफल भए खुट्टा टेकेर फेरि उठ्ने उनले अठोट लिएकी छन् ।