नेपाली फिल्मका लागि यस वर्षको भदौ महिनालाई विशेष रुपमा हेरिएको छ । गत बैशाखमा ‘जारी’ र असारमा ‘बगान’बाहेक कुनै फिल्मले अपेक्षाकृत व्यापार नगरेकाले यो महिनामा सम्भावना बोकेका केही फिल्म प्रदर्शन हुँदैछन् । तर, भदौ महिनाको सुरुवात भने निराशाजनक देखिएको छ । भदौ १ गते प्रदर्शनमा उत्रिएका दुई फिल्म ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ले हलमा घुँडा टेकेका छन् ।
स्टारडम भएको अभिनेताको रुपमा चित्रित गरिएका आकाश श्रेष्ठ अभिनीत ‘हिँड्दा हिँड्दै’को दुई दिने कमाई १ लाख पनि नाघेको छैन । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले दुई दिनमा जम्मा ७४ हजार रुपैयाँ कमाई गरेको छ । त्यसो त निर्माताले फिल्मलाई भगवान् भरोसामा छाडिदिएका थिए । अर्थात्, प्रचार नै गरिएको थिएन । त्यसको असर फिल्मको व्यापारमा परेको छ ।
बक्स अफिसमा ‘जुलेबी’को हविगत पनि ‘हिँड्दा हिँड्दै’को जस्तै छ । यो फिल्मले प्रदर्शनको दुई दिनमा जम्मा ९३ हजारको कमाई गरेको बोर्डको तथ्यांकमा देखिन्छ । कमाई कमजोर भएता पनि यो फिल्मले सुखद प्रतिक्रिया प्राप्त गरेको छ । तर, त्यसको प्रभाव व्यापारमा पर्न सकेको देखिन्न । दर्शकको चरम खडेरीपछि केही मल्टीप्लेक्सहरुले दुईटै फिल्मलाई दुई दिनमै उतारिसकेका छन् ।
अब सिंगो फिल्म क्षेत्रको भरोसा भदौको तीनवटा हप्तामा छ । भदौ ८ मा ‘जय हो’ र ‘महानगर’, भदौ १४ मा ‘ऐंचो पैंचो’ र ‘गणपति’ र भदौ २९ मा ‘एक भगवत् गीता’ र ‘नाङ्गो गाउँ’ले कोमामा रहेको नेपाली फिल्मको बजारलाई ब्यूँझाउन सक्ने प्रक्षेपण गरिएको छ । यतिबेला नेपाली हलमा विदेशी फिल्मको दबदबा छ । बलिउड फिल्म ‘गदर २’ र ‘ओएमजी २’ले सुखद व्यापार गरिरहेका छन् ।