मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शोभितको टिप्पणी- ‘सलोन नभएको फिल्म अनमोलको कुनै सफल छैन’

फिल्मीखबर, काठमाडौं, 2023/08/21

निर्देशक शोभित बस्नेत विवादलाई काखी च्यापेर हिँड्ने गर्छन् । उनी बोल्यो कि विवाद जन्मियो । कहिले ‘महानायक’को विषयमा दिएको अभिव्यक्तिले होस् त कहिले स्टार कलाकारप्रति गरेको कटाक्षले उनी विवादको घेरामा रहँदै आएका छन् । र, उनलाई विवादले रत्ति फरक पार्दैन । बरु, शोभित विवादमा मस्त रमाउने पात्रमा पर्छन् । उनलाई रुचाउने र उछित्तो काट्ने दुवैथरी छन् ।

उनको निर्माण रहेको नयाँ फिल्म ‘जय हो’ भदौ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । यस फिल्मलाई लिएर उनी गम्भीर देखिएका छन् । यसपटक आफ्ना कुनै पनि अभिव्यक्तिले फिल्मलाई असर नगरोस् भन्नेमा उनी सचेत छन् । तर, शोभित बस्नेत विवादबाट टाढा रहन कसरी सक्छन् र ? जसरी पानीबिना माछा बस्न सक्दैन । उनलाई एक अभिव्यक्तिले फेरि विवादमा ल्याउने निश्चित देखिन्छ ।

 

Shovit Basnet


क्यानडा नेपाल युट्युब च्यानलसँगको अन्तर्वार्तामा शोभितले छोरा सलोन बस्नेतबिना अनमोल केसीका कुनै फिल्म सफल नभएको टिप्पणी गरेका छन् । उनी भन्छन्, ‘अनमोलको फिल्ममा सधैं सलोन आउँछ भनेर टिप्पणी हुने गर्छ । तर, सलोन नभएको फिल्म अनमोलको कुनै पनि सफल छैन । ‘कृ’, ‘क्याप्टेन’ र ‘छड्के २’ फ्लप भयो । अनमोलको जुन फिल्म सफल छ, त्यसमा सलोन छ ।’

यसबाट दर्शकले कसलाई सबैभन्दा बढी माया गरेको छ भन्ने भन्ने थाहा हुने शोभितको तर्क छ । अनमोलभन्दा दर्शकले सलोनलाई मन पराएको भन्ने उनको आशय रहेको बुझ्न सकिन्छ । उनी आफ्नो यो अभिव्यक्तिले विवाद जन्माउनेमा समेत निश्चिन्त रहेछन् । ‘म सत्य बोल्छु अनि विवाद निस्किन्छ । र, यो कुरामा पनि विवाद निस्किनेछ । किनकि, मैले सत्य बोलेको छु,’ उनले भनेका छन् ।

तर, शोभितको अभिव्यक्तिमा सत्यता छैन । अनमोलको सुपरहिट फिल्म ‘जेरी’ र ‘ड्रिम्स’मा सलोन थिएनन् । एउटा यथार्थ चाहिँ के हो भने उनका बढीजसो सफल फिल्म सलोनसँगै छन् । तर, सलोन भएकै कारण अनमोलको फिल्म सफल भएको भन्ने शोभितको तर्क आत्मरतिमा रमाउनु मात्रै हो । सलोन हुँदैमा फिल्म सफल हुन्थ्यो भने उनले खेलेका कयैन् फिल्मले निर्माता डुबाउने थिएनन् ।