अभिनेत्री परमिता आरएल राणाले जीवनसाथी भेटेकी छन् । उनले सोमबार इन्स्टाग्राममा एउटा रिल पोस्ट गर्दै आफ्नो जीवनसाथी सार्वजनिक गरेकी छन् । उनले ‘हाई सोलमेट’ भनेर उल्लेख गरेकी छन् । उनले विवाह बन्धनमा बाँधिएको जानकारी भने गराएकी छैनन् । उनका ‘सोलमेट’ मलायाली (भारतीय) हुन् । उनले आफ्नो जीवनसाथीसँग केराको पातमा खाना खाइरहेको पनि देखिन्छ ।
परमिताले जीवनसाथीको बारेमा कुनै जानकारी गराएकी छैनन् । उनलाई इन्स्टाग्राममा नयाँ यात्राका लागि बधाईको ओइरो लागेको छ । उनी केही वर्षदेखि भारतको मुम्बईमा बस्दै आएकी छन् । अब उनले जीवनसाथी पनि भारतीय नै रोजेकी छन् । उनले नेपाली फिल्ममा काम नगरेको पाँच वर्षभन्दा बढी भैसकेको छ । परमिताले अभिनय गरेको पछिल्लो रिलिज फिल्म ‘द कर्म’ (२०१८) हो ।
सन् २०१६ मा आएको फिल्म ‘चपली हाइट २’बाट अभिनय करिअर सुरु गरेकी उनले ‘रोज’, ‘चंगा चेट’ र ‘द म्यान फ्रम काठमाण्डू’ फिल्ममा पनि काम गरेकी छन् । अभिनयसँगै परमितालाई गायनमा पनि रुचि छ । उनले आफ्नो आवाजमा ‘क्विन’, ‘मायाको भूल’, ‘अन्धकार’ लगायतका केही गीतहरु सार्वजनिक गरिसकेकी छन् । उनको नेपाली फिल्ममा भने करिअर सुखद रहन सकेको छैन ।