फिल्म ‘नाईं नभन्नू ल ४’बाट अभिनेत्री वर्षा राउतको सुखद उदय भयो । ‘छक्का पञ्जा’ र ‘जात्रा’ जस्ता फिल्म सफल भैदिँदा उनको करिअर थप मजबूत बन्यो । चुलबुले र गम्भीर दुवै स्वभावको भूमिकामा आफूलाई अब्बल प्रमाणित गरिसकेकी उनी अब आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ऐंचो पैंचो’मा देखिँदैछन्, जसलाई लिएर उनको निकै ठूलो आशा र भरोसा छ ।
तर, यतिबेला फिल्ममा रोल काटिएकोले उनी असन्तुष्ट रहेको चर्चाले भैरहेको छ । यो कुरा कसरी फैलियो उनी स्वयं अनविज्ञ छिन् । फिल्ममा आफ्नो रोल काटिएको कुरा सत्य नभएको उनी दाबी गर्छिन् । उनी भन्छिन्, ‘सुटिङमै रोल काटिएको भए म प्रचारमा नै हिँड्दिनँ थिएँ । कृषा चौलागाईं (निर्देशक) दिदीले त केही दृश्य थप्नुपर्नेछ फेरि सुटिङ गरौंन भन्दा मैले नै अब नगरौं भनेकी थिएँ ।’
वर्षालाई फिल्ममा रोल कम-बढीभन्दा पनि त्यो कति सशक्त छ भन्ने कुरा महत्त्वपूर्ण लाग्छ । ‘म रोल कति छ हैन, कति सशक्त छ त्यो हेर्छु । आजसम्म कुनै पनि फिल्म म आफैंले चलाएको भन्ने छैन । त्यसैले रोल २ मिनेटको नै किन नहोस्, त्यसले दर्शकमा कति प्रभाव पार्छ त्यो महत्त्वपूर्ण कुरा हो,’ राउत भन्छिन् । कुनै फिल्ममा २ मिनेटको सिनमा पनि काम गर्न मन लाग्ने उनको अनुभव छ ।
वर्षाले ‘ऐंचो पैंचो’बाट आफूले बढी नै आशा राखेको बताएकी छन् । उनले भनेकी छन्, ‘हुन त मलाई हरेक फिल्म महत्त्वपूर्ण लाग्छ । यो फिल्मबाट चाहिँ मलाई अलि बढी नै आशा छ । केही राम्रो काम गरेको छु कि जस्तो महसुस भैरहेको छ ।’ ट्रेलरमा उनलाई विवाहित महिलाको रुपमा चित्रण गरिएको छ । पहिला पनि केही फिल्ममा उनले विवाहित महिलाको भूमिका निभाइसकेकी छन् ।
ट्रेलरले फिल्म राजनीतिक विषयमा केन्द्रित रहेको बुझाउँछ । तर, निर्देशक कृषा चौलागाईं फिल्म सामाजिक विषयवस्तुमा बनेको प्रष्ट पार्छिन् । ‘ट्रेलर र टिजरको ढाँचाले फिल्म पोलिटिकल ड्रामा भन्ने लागेको हुनसक्छ । तर, फिल्म सामाजिक विषयमा बनेको छ । राजनीतिको अंश चाहिँ छ । किनकि, समाजमा राजनीतिको प्रभाव हुन्छ । त्यसलाई उतार्ने कोशिश मात्र हो,’ उनले भनेकी छन् ।