गत असार २१ गते रातोपुलस्थित घरमा झुन्डिएको अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारले निधनअघि फिल्म ‘ह्यासट्याग माया’मा काम गरिरहेका थिए । फिल्मको आधा छायांकन पनि सकिएको छैन । उनको निधनपछि फिल्म निर्माण नै अन्योल बनेको छ । करिब २ वर्ष प्रि-प्रोडक्सन र छायांकनमा समेत गरी फिल्ममा पाँच करोड बढी खर्च भैसकेको दाबी निर्माण पक्षले गरेको छ ।
अब फिल्म निर्माण हुँदा पनि सारुकका दृश्य समावेश गर्न सम्भव छैन । यसैले उनको भागको दृश्यलाई जोडेर म्यूजिक भिडियोको रुपमा सार्वजनिक गरिने भएको छ । फिल्मका निर्देशक राजीव गुरुङले बर्दियामा खिचिएको सारुकको दृश्यमा म्यूजिक भिडियो बनाउन लागेको जानकारी दिए । चार मिनेटको रोमान्टिक गीतमा सारुक र फिल्मकी एकजना अभिनेत्री देखिने उनको भनाई छ ।
फिल्मको प्रयोजनलाई तयार पारिएको एउटा गीतमा म्यूजिक भिडियो बनाइँदैछ । निर्देशक गुरुङले फिल्मीखबरसँग फोन संवादमा भनेका छन्, ‘हामीले सारुक भाईलाई श्रद्धाञ्जलीस्वरुप उहाँले अभिनय गर्नुभएको दृश्यहरुलाई समेटेर म्यूजिक भिडियो बनाउँदैछौं । जसमा सारुकले बर्दियामा अभिनय गर्नुभएको दृश्यलाई मात्र समेट्छौं । काठमाडौंमा त उहाँको दृश्य धेरै खिच्नै पाएका थिएनौं ।’
यही बिहीबार (भदौ ७ गते) काठमाडौंमा एक कार्यक्रम गर्दै सारुकको परिवारको उपस्थितिमा गीत सार्वजनिक गरिँदैछ । निर्देशक गुरुङले फिल्मको निर्माणबारे भने अहिले केही भन्न नसक्ने अवस्थामा रहेको बताएका छन् । ‘अहिले हामी गीत तयार गर्नमा व्यस्त छौं । यसपछि फिल्मको निर्माणबारे छलफल गर्नेछौं । फिल्म बन्छ या बन्दैन, अहिले नै भन्न सक्ने अवस्थामा छैनौं,’ राजीवले भने ।