साउथ फिल्मको बढ्दो बजार बलिउडलाई ठूलो चुनौती बनिरहेको छ । यसैले बलिउडको बजारलाई बलियो बनाउन त्यहाँका ठूला स्टारहरुले एकअर्काको फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । ‘पठान’ यसको उदाहरण हो, जसमा शाहरुख खान र सलमान खान एकसाथ देखिएका थिए । तर, नेपाली फिल्ममा स्टार कहलिएका कलाकारहरुबीच सहकार्यको भावना देखिन सकेको छैन ।
फिल्मको बजार फष्टाउन बलिउडले अपनाएको शैली नेपाली फिल्ममा पनि अपनाउन आवश्यक देख्छन्, अभिनेता मुकुन भुषाल । उनी भन्छन्, ‘बलिउडका ठूला स्टारहरुले एकअर्काको फिल्ममा सहकार्य गर्नुको कारण उनीलाई बजार खुम्चिँदै गइरहेको छ भन्ने राम्ररी थाहा छ । यसैले उनीहरु एकअर्काको फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । यो नेपाली फिल्ममा पनि हुन आवश्यक छ ।’
फिल्म इन्डस्ट्री किराना पसल जस्तो नभएको उनको तर्क छ । ‘एउटा सामान किनेको ग्राहक सधैँ त्यही पसलमा आएर किनिरहन्छ भन्ने त हुँदैन नि,’ उनी अगाडि भन्छन्, ‘एकअर्काले साथ दिने हो भने नेपाली फिल्मको बजार पनि फस्ट्याउन गाह्रो छ जस्तो मलाई लाग्दैन ।’ अभिनेता भुषाललाई इगोको कारणले स्थापित कलाकारहरुबीच फिल्ममा सहकार्यको भावना हुन नसकेको भन्ने लाग्दैन ।
‘इगोका कारण सहकार्यको भावना हुन नसकेको भन्ने चाहिँ लाग्दैन । म त सिकारु कलाकार हुँ । तेस्रो फिल्म बल्ल प्रदर्शन हुँदैछ । धेरै काम गरिसकेका कलाकारसँग काम गर्दा पनि इगोको समस्या चाहिँ देखिनँ,’ उनको अनुभव छ । फिल्म ‘बुलबुल’बाट चर्चामा आएका मुकुनले हरेक फिल्म भिन्न जनराको गर्दै आएका छन् । उनको अनुभवमा हरेक फिल्ममा काम गर्ने तरिका फरक हुन्छ ।
उनलाई फिल्ममा कति सिन गरियो भन्दा पनि त्यसले कति प्रभाव पार्छ भन्ने ठूलो लाग्छ । ‘फिल्ममा कति सिन गरियो होइन, त्यसले कति प्रभाव छाड्यो भन्ने मेरो लागि मुख्य कुरा रहने गर्छ । ‘बुलबुल’मा मेरो कति सिन थियो, त्यो गणना नगरे पनि त्यो क्यारेक्टरले केही प्रभाव छाड्यो जस्तो चाहिँ लाग्छ,’ मुकुनले भने । उनी अभिनीत नयाँ फिल्म ‘ऐंचो पैंचो’ भदौ १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।