कोरोना महामारीपछि बलिउड लामो समय संकटग्रस्थ अवस्थामा थियो । कयैन् आशातित फिल्मले लगानी समेत उठाउन सकेनन् । यस वर्ष प्रदर्शित शाहरुख खान अभिनीत फिल्म ‘पठान’ले बलिउडलाई नै पुर्नजन्म दियो । यसपछि बलिउड फिल्मको सफलता जारी छ । यसबीच, फिल्म ‘गदर २’ले बलिउडलाई अर्को ठूलो खुसी दिएको छ । यो फिल्मले भारतीय बक्स अफिस तताएको छ ।
सन् २००१ को सुपरहिट फिल्म ‘गदर’को कथाको निरन्तरताको रुपमा तयार भएको फिल्मको ओपनिङ कलेक्सन नै सानदार थियो । ४० करोडको ओपनिङ गरेको फिल्मले प्रदर्शनको ३ दिनमा सय करोड, ५ दिनमा २ सय करोड, ८ दिनमा ३ सय करोड र १२ दिनमा ४ सय करोडको आँकडा छोएको छ । अब फिल्म ५ सय करोडको लक्ष्यमा अघि बढेको छ । र, यो पनि सम्भव देखिन्छ ।
फिल्मको बारेमा ट्रेन्ड एनालिस्ट तरण आदर्श लेख्छन्, ‘फिल्मले ५ सय करोड क्लबमा आफ्नो महत्त्वपूर्ण यात्रा सुरु गर्यो । यो ठूलो रुपमा एक घोडाको दौड हो ।’ रिलिजपूर्व फिल्मको सफलतालाई लिएर आशंका उब्जिएको थियो । तर, फिल्मले बलिउडलाई नै ‘सरप्राइज’ दिएको छ । अनिल शर्माद्वारा निर्देशित फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्ष शर्मालगायतको मुख्य भूमिका छ ।
‘गदर २’सँगै एकसाथ प्रदर्शनमा आएको अक्षय कुमार र पंकज त्रिपाठी अभिनीत फिल्म ‘ओएमजी २’ले पनि सय करोडको आँकडा पार गरिसकेको छ । फिल्मले प्रदर्शनको १२ दिनसम्ममा १ सय २० करोडमाथिको कमाई गरेको इन्डिया टूडेले उल्लेख गरेको छ । ‘गदर २’भन्दा ‘ओएमजी २’को ‘वर्ड अफ माउथ’ राम्रो छ । यी दुई फिल्मले बलिउडलाई नयाँ दिशा दिएको विश्लेषण गरिएको छ ।