करिब ९ महिना अगाडि अभिनेता आकाश श्रेष्ठले आफ्नो जन्मदिन फ्यानहरुसँग मनाएका थिए । उनका फ्यानहरुले काठमाडौंको एउटा पार्टी प्यालेस नै रिर्जभ गरेर उनलाई हातमा सुनको सिक्रीदेखि कानमा मुन्द्रासम्म उपहार दिएका थिए । उनको जन्मदिनमा रमाउन फ्यानहरुको सानोतिनो मेला लागेको थियो । त्यसअघिका उनको बर्थडेमा पनि भीडभाड र सुनको उपहार टुटेको थिएन ।
एउटा सेलिब्रेटीले ठूलो मात्रामा प्रशंसक कमाउनु ठूलै उपलब्धि हो । यो सौभाग्य ज्यादै कमले पाउने गर्छन् । तर, जन्मदिनमा मात्रै देखिने क्रेज लौरो न हतियार हो । आकाशको जन्मदिनमा देखिने क्रेज हलमा देखिएको भए उनी अभिनीत फिल्म ‘हिँड्दा हिँड्दै’ले एक हप्ता पनि नपुग्दै दम तोड्नुपर्ने अवस्था आउँदैन थियो । यो फिल्म उनको करिअरकै सबैभन्दा ठूलो डिजास्टर बन्न पुगेको छ ।
फिल्मलाई प्रायः मल्टीप्लेक्सहरुले हटाइसकेका छन् । एकाधमा बिहीबारसम्म जेनतेन टिक्ने देखिन्छ । त्यसो त एउटा कलाकारको बलमा फिल्म चल्ने कदापि होइन । त्यसका लागि फिल्म आफैंमा सशक्त हुनुपर्छ । ‘हिँड्दा हिँड्दै’को असफलताको राज खोज्ने हो भने फिल्ममै खोट भेटिन्छ । तथापि, उक्त फिल्मको नतिजाले आकाशलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने अवस्थामा उभ्याएको छ ।
‘हिँड्दा हिँड्दै’ व्यावसायिक रुपमा सफल हुनैपर्ने दबाब उनमा थियो । किनभने गत वर्ष उनको दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना बिर्सना’ पनि असफल भएका थिए । हुन त ‘हिँड्दा हिँड्दै’लाई निर्माताले भगवान् भरोसामा छाडिदिएका थिए । त्यसैले आकाशलाई पनि रत्ति आशा थिएन । तर, फिल्मको असफलताले करिअरमा अर्थ राख्ने भएकाले उनलाई ठूलो असर गर्ने देखिन्छ ।