कुनै समय नेपाली फिल्ममा बलियो पकड बनाएकी सुपरस्टार रेखा थापा फिल्म ‘मालिका’ (२०७५)यता अभिनयमा सक्रिय थिएनन् । उनको सक्रियता राजनीतिमा बढी देखियो । अब उनी आफ्नो होम प्रोडक्सनको फिल्म ‘उपहार’मार्फत् ५ वर्षपछि अभिनयमा फर्किएकी छन् । बिहीबार पशुपतिनाथमा शुभ-मुहूर्त गरेपश्चात् त्रिभुवन विमानस्थलको गेटबाट फिल्मको छायांकन थालिएको छ ।
अघिल्लो वर्षको सुपरहिट फिल्म ‘झिँगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाले ‘क्याप्टेनसिप’ सम्हालेको फिल्ममा रेखाका साथै पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, मिस्टर नेपाल २०२३ का विजेता समर्पणजंग कार्की, शिशिर राणा, तेज गिरीलगायतको मुख्य भूमिका रहनेछ । काठमाडौं आसपासमा छायांकन गरिने फिल्म सामाजिक विषयवस्तुमाथि आधारित भएर निर्माण हुने जानकारी प्राप्त छ ।
रेखा फिल्मस् र कपनगढी फिल्म्सको संयुक्त ब्यानरमा बन्न लागेको फिल्ममा अभिमन्यू निरवी तथा सुलक्षण भारतीयको लेखन छ । फिल्ममा रेखा, पूजा र बेनिशा एक्सन भूमिकामा प्रस्तुत हुने जानकारीमा छ । पहिलो पटक उनीहरुको फिल्ममा सहकार्य भएको हो । रेखा थापालाई ‘उपहार’बाट जबर्जस्त कमब्याकको दबाब छ । किनकि, ‘रुद्रप्रिया’यता उनका कुनै पनि फिल्म सफल छैनन् ।