मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफ्नो फिल्म पर्दामा हेर्न नसक्ने केकी र सलोन

फिल्मीखबर, काठमाडौं, 2023/08/24

एउटा कलाकारका लागि आफूले अभिनय गरेको फिल्म सन्तानजस्तै हुन्छ । अर्थात् अगाध प्रेम हुन्छ । नहोस् पनि किन ! फिल्मका लागि महिनौं समय दिइएको हुन्छ । चरित्र निर्माणमा मिहिनेत गरिएको हुन्छ । प्रचारमा उस्तै दौडधुप हुन्छ । यसैले कलाकारहरु फिल्म रिलिजको संघारमा हुँदा जति उत्साहित देखिन्छन्, त्यतिक्कै बेचैन पनि हुन्छन् । कति त पर्दामा आफूलाई हेर्न नै सक्दैनन् ।

अभिनेत्री केकी अधिकारी र अभिनेता सलोन बस्नेतलाई पनि आफ्नो काम पर्दामा हेर्न असाध्धै गाह्रो लाग्छ । बुधबार भएको फिल्म ‘जय हो’को प्रिमियरमा पनि दुवैलाई पर्दामा आफूलाई हेर्न गाह्रो महसुस भएको थियो । सलोनले त बीचमै हलबाट बाहिरिने प्रयास समेत गरेका थिए । तर, बहिनी र श्रीमतीले उनलाई कुर्सीबाट उठ्न दिएनन् । आफ्ना हरेक फिल्म हेर्न उनलाई यस्तै सकस हुन्छ ।

 

jay ho (1)


उनी भन्छन्, ‘मलाई आफ्नो फिल्म हेर्न एकदमै गाह्रो हुन्छ । म हेर्नै सक्दिनँ । त्यही भएर मैले ‘जय हो’ हेर्न बहिनी (सलिना बस्नेत) र श्रीमती (करिश्मा केसी)लाई लिएर आएको थिएँ । उनीहरुले मलाई कुर्सीबाट उठ्नै दिएनन् । नत्र म बीचमा भाग्न लागिसकेको थिएँ, गाह्रो भएर । हेर्दै जाँदा फिल्मको ‘फ्लो’ राम्रो लाग्यो । केकी र मैले फिल्म राम्रो हुँदैछ भनेर कुराकानी पनि गरिरहेका थियौं ।’

केकी पनि आफ्नो फिल्म पर्दामा हेर्दा अप्ठ्यारो महसुस हुने अनुभव सुनाउँछिन् । ‘दर्शक भएर आफ्नो फिल्म हेर्नै सकिँदैन । कता के कमजोरी छ, के गरिरहेको छु भनेर ढुकढुक मात्रै भइरहन्छ । हेर्न नपरे पनि हुन्थ्यो भनेर कहिले कुर्सीमुनि अनुहार लुकाउँछु,’ उनी भन्छिन्, ‘मलाई मेरो कुनै पनि फिल्म प्रिमियरमा हेर्दा एकदमै अप्ठ्यारो महसुस हुन्छ । ‘जय हो’मा पनि त्यस्तै महसुस भयो ।’

प्रिमियरमा फिल्मकर्मीहरुले सलोन र केकीको अभिनयको प्रशंसा गरेका थिए । छायांकन पक्षको पनि उतिक्कै प्रशंसा भएको थियो । टेक पौखरी राईद्वारा निर्देशित फिल्मले मल्टीप्लेक्सहरुमा सुखद शो प्राप्त गरेको छ । ‘वर्ड अफ माउथ’ बलियो मिलेको खण्डमा फिल्मले व्यापार पनि सुखद गर्न सक्ने देखिन्छ । ‘जय हो’को ‘म आगो भए’ बोलको रोमान्टिक गीत यतिबेला सर्वाधिक चर्चामा छ ।