गत असार २१ गते घरमा मृत भेटिएका अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम फिल्म ‘ह्यासट्याग माया’को दृश्यलाई समेटेर म्यूजिक भिडियोको रुपमा सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमबीच ‘माया’ बोलको गीतमा सारुकले फिल्ममा अभिनय गरेका दृश्यहरु समावेश छन् । उनको ‘लेडी लभ’को रुपमा निकिता आचार्य फिचर्ड छिन् । गीतको अडियो सशक्त छ ।
गीतमा एसडी योगीको स्वर-संगीत र राम अविरल विष्टको शब्द रचना छ । खासमा यो गीत फिल्मका लागि तयार पारिएको थियो । तर, सारुकको निधनपछि फिल्मको निर्माण नै अन्योल बन्यो । यसपछि निर्माण टिमले उनको अन्तिम कामलाई दर्शकमाझ ल्याउन फिल्मभित्रका दृश्यलाई समेटेर म्यूजिक भिडियो तयार पारेको हो । भिडियोमा फिल्म छायांकनका केही दृश्य पनि समावेश छन् ।
गीतमा सारुकले बर्दियामा छायांकन गरेका दृश्यहरु मात्र राखिएको छ । काठमाडौंमा उनको भागको धेरै दृश्य खिचिएको थिएन । भिडियोमा उनी भिन्न लुक्समा देखिएका छन् । उनको दाह्री र कपाल लामो देखिन्छ । फिल्मका निर्देशक राजीव गुरुङका अनुसार, फिल्ममा सारुक नकारात्मक भूमिकामा थिए । अभिनेत्री नम्रता श्रेष्ठको आग्रहमा फिल्ममा उनको भूमिका हेरफेर गरिएको थियो ।
फिल्म ‘रानी’बाट अभिनेताको रुपमा डेब्यू गरेका सारुकले त्यसपछि ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डनमा’मा काम गरेका थिए । उनी ५ वर्षपछि ‘ह्यासट्याग माया’बाट फिल्ममा फर्किएका थिए । तर, फिल्मको छायांकन नसकिँदै उनले देहत्याग गरे । फोटोग्राफीका सौखिन उनले केही सर्ट फिल्ममा अभिनयसँगै निर्देशन समेत गरेका छन् । उनले आत्महत्या गर्नुको कारण भने अझै खुलेको छैन ।