यही भदौ २९ गते प्रदर्शनमा आउन लागेको झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मायालाई चिनो’ बोलको रोमान्टिक भावको गीतमा बाबुल गिरीको स्वर र संगीत रहेको छ भने शंकर अधिकारी ‘घायल’को शब्द रचना छ । गीतमा संकल्प भुजेलको छायांकन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतको अडियो कर्णप्रिय छ ।
गीतमा फिल्मका मुख्य अभिनेता धीरज मगर र अभिनेत्री सुहाना थापा फिचर्ड छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । यी दुईको केमेस्ट्री गजब देखिन्छ । ग्रामीण परिवेशमा छायांकन भएको गीतका दृश्यहरु लोभलाग्दा छन् । टिजर र पोस्टरमा अभिनेता विपिन कार्कीको ट्रान्सजेन्डर लुक्सले फिल्मलाई चर्चामा ल्याएको छ । यो फिल्म अन्तरजातीय प्रेमकथामा आधारित रहेको जनाइएको छ ।
अनुराग कुँवर, कबीर खड्का, जेविस श्रेष्ठ, जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, राम कैलाश ठाकुर, धीरज ठाकुर, सुरेन्द्र राय, गंगाकान्त झालगायतको पनि फिल्ममा अभिनय छ । सुनिल कुमार थापाको निर्माण रहेको फिल्मको कथा झरना थापा स्वयंको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको फिल्ममा परिक्षेद र पुरुषोत्तमको संवाद छ ।
राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको फिल्मको निर्मातामा सुहाना थापा छिन् । छायांकन सुरु हुँदा फिल्मको नाम ‘भगवत् गीता’ मात्र थियो । छायांकन सकिएपछि ‘एक’ शब्द थपिएको हो । किनकि, थापा परिवारलाई ‘ए’ नामका फिल्म (ए मेरो हजुर सिरिज)ले व्यावसायिक सफलता दिलाएका छन् ।