मिति : २०८१ मंसिर १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

सारुककी आमाको रोदन- ‘मैले छोरा गुमाएकी छु, न्याय त पाउनैपर्छ’

फिल्मीखबर, काठमाडौं, 2023/08/24

गत असार २१ गते रातोपुलस्थित घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारले फिल्म ‘ह्यासट्याग माया’मा अभिनय गरेको दृश्यलाई समेटेर तयार पारिएको ‘माया’ बोलको गीतको म्यूजिक भिडियो बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरियो । सारुककी आमा रुकमणि ताम्राकारसहित सृष्टि श्रेष्ठ, मलिना जोशी आदिको उपस्थिति रहेको कार्यक्रम भावविह्वल बनेको थियो ।

सारुककी आमाले तीन वर्षदेखि छोराले फिल्मलाई समय दिएको स्मरण गर्दै सबैलाई छोराको अन्तिम काम हेरिदिन आग्रह गरिन् । उनले भनिन, ‘उसको इच्छा यो फिल्म राम्रो गर्ने थियो । तीन वर्षदेखि फिल्मका लागि भनेर हिँडेको थियो । फिल्म राम्रो हुन्छ भन्ने मलाई विश्वास थियो । तर, त्यो विश्वास नै पूरा हुन सकेन । मेरो छोराका लागि यो फिल्म सबैले हेरिदिनुहोला । मेरो इच्छा यही हो ।’

सारुकको निधनपछि उनका पिता तथा कलाकार सानु ताम्राकार विरामी भएका छन् । केही दिन अस्पतालमा उपचारपछि अहिले उनलाई घर लगिएको छ । रुकमणिले श्रीमानको स्वास्थ्य लाभको कामना गरिदिन पनि आग्रह गरिन् । उनले छोराको न्यायको माग पनि गरिन् । रुकमणिले रुँदै भनिन्, ‘मेरो छोराले न्याय त पाउनैपर्छ । मैले छोरा गुमाएकी छु । मेरो छोरालाई न्याय मिलाइदिनुस् ।’

 

saruk tamakar's mother


कार्यक्रममा सृष्टि श्रेष्ठ पनि सारुकलाई सम्झँदा सम्हालिन सकिनन् । उनले आँशु झार्दै सारुकसँग विताएका रमाइला दिनहरु स्मरण गरिन् । ‘हामी साथीहरु कोही निराश हुँदा सारुकले सम्झाउँथ्यो । ऊ एकदमै सकारात्मक सोचको थियो । उसलाई नराम्रो भन्ने त कोही भेटिँदैन । ऊ जहाँ जान्थ्यो, सबैलाई माया बाँड्थ्यो । सबैलाई सहयोग गर्थ्यो । ऊ अहिले यतै छ कि झैँ लाग्छ,’ उनले भनिन् ।

उनले ढिलोचाँडो सत्य बाहिर आउने विश्वास व्यक्त गरिन् । ‘मलाई मेरो भगवान् र ब्रम्हाण्डमा विश्वास छ । यसैले मलाई सत्य बाहिर आउँदैन भन्ने कुरामा विश्वास छैन । त्यो आउँछ,’ उनले भनेकी छन्, ‘प्रहरीले राम्रोसँग अनुसन्धान गरिरहेको छ भन्नेमा विश्वास छ । यसलाई ढिलो नगरी सत्यतथ्य बाहिर ल्याइदिनुस् ।’ उनले सारुकको आत्माको शान्तिका लागि कामना गरिदिन पनि आग्रह गरिन् ।

फिल्मका निर्देशक राजीव गुरुङले सारुकको अन्तिम कामलाई दर्शकमाझ ल्याउनुपर्छ भनेर फिल्मका लागि खिचिएको सारुकको दृश्यमा म्यूजिक भिडियो तयार गरेको बताए । ‘मैले सारुकलाई चिनेको तीन वर्ष भयो । फिल्मकै लागि भेट भएको थियो । सारुक एकदमै प्रतिभाशाली थियो । क्यामेरा अगाडि र पछाडि दुवैतिर । स्क्रिप्टदेखि गीत छनोटसम्म उसको योगदान छ,’ उनले सम्झिए ।

त्यस्तै, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले सारुकको निधनको विषयमा प्रहरीले अनुसन्धान प्रक्रियालाई जति चाँडो निष्कर्षमा पुर्‍याएर सत्यतथ्य बाहिर ल्याउन अनुरोध गरे । ‘प्रहरीले अनुसन्धानको प्रक्रिया टुंगिँदैन भनेको छ । सारुकको निधनमा को संलग्न थियो र को थिएन भन्ने बारेमा प्रहरीले अनुसन्धान गर्नुपर्छ भनेर म माग गर्दछु । सत्यतथ्य बाहिर आउनुपर्छ,’ उनले भने ।